रविलाई नभेटी किन फर्किइन् निकिता

रविलाई नभेटी किन फर्किइन् निकिता


काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई भेट्न पुगेकी भनिएकी पत्नी निकिता पौडेल उनलाई नभेटी फर्किएकी छन् । जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगले बयानका निम्ति लामिछानेलाई दिउँसो सिंहदरबार झिकाएको थियो । त्यही बेला पुगेकी पत्नी निकिता एकैछिनमा फर्किएकी थिइन् । लामिछानेसँग भेट्न नभएर केही कागजातका सक्कल प्रति आयोगलाई बुझाउनुपर्ने कारण आफू त्यहाँ पुगेको उनले बताइन् ।

सिंहदरबारबाट बाहिरिएपछि नेपाल प्रेससँग कुरा गर्दै उनले भनिन्, ‘उहाँसँग आयोगका पदाधिकारीहरुले भित्र कुराकानी गरिरहनुभएको थियो, म बाहिरबाटै फर्किएँ, कुराकानी हुन पाएन ।’ जेनजी आन्दोलनका क्रममा भदौ २४ गते लामिछाने जेलबाट बाहिरिएको घटनालाई गहिरो अनुसन्धान गरिरहेको जाँचबुझ आयोगले यसअघि आइतबार नख्खु कारागारमै गएर उनीसँग भेटेको थियो । उक्त भेट सामान्य रहेको आयोगका प्रवक्ता तथा पूर्वप्रहरी एआईजी विज्ञानराज शर्माले बताएका थिए ।

आयोगस्रोतका अनुसार, आइतबारको कुराकानीलाई कानूनबमोजिम बयानका रुपमा अभिलेखित गर्नुपर्ने कारण बुधबार दिउँसो लामिछानेलाई सिंहदरबारस्थित आयोगको सचिवालयमा ल्याइएको हो । उनले आफू कारागाबार भागेको नभई प्रहरी र गृह प्रशासनले विभिन्न कागजात मिलाएर बाहिर पठाएको बताएका थिए । ती कागजी प्रक्रिया कानूनसम्मत नभएको जानकारी भएपछि आफैँ कारागार फिर्ता भएको बताएका थिए ।

त्यस सन्दर्भमा तयार पारिएका कागजातका सक्कल प्रति लामिछानेले घरमै छोडेर गएका थिए ।पत्नी निकिताले भनिन्, ‘तिनै डकुमेण्टका ओरिजनल कपी मगाउनुभएको थियो, दिएर आएँ ।’