महाधिवेशन विवाद समाधानमा देउवा सक्रिय, नेताहरूसँग छलफल तीव्र

महाधिवेशन विवाद समाधानमा देउवा सक्रिय, नेताहरूसँग छलफल तीव्र


काठमाडौँ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्र महाधिवेशनको समयसूचीबारे देखिएको विवाद समाधान गर्न सक्रिय भएका छन्। सिंगापुरमा १८ दिन स्वास्थ्योपचारपछि शुक्रबार राति काठमाडौं फर्किएका देउवाले शनिबारदेखि यस विषयमा नेताहरूसँग निरन्तर भेटघाट सुरु गरेका हुन्
उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएकाले देउवा औपचारिक रूपमा नभई अनौपचारिक तौरमा विवाद मिलाउने प्रयासमा जुटेको एक वरिष्ठ नेताले जानकारी दिए। शनिबार बिहान कार्यवाहक सभापति खड्काले एक महिनादेखि जारी केन्द्रीय समिति बैठकमा उठेका मतभेद र महाधिवेशनबारे देखिएका विवादबारे देउवालाई ब्रिफिङ गरेका थिए।

त्यसपछि देउवाले पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदलगायत नेताहरूसँग छलफल गरेका थिए। स्रोतका अनुसार देउवाले खड्कालाई ‘सकभर मिलाएर अघि बढ्ने’ सुझाव दिएका छन्। साथै भेट भएका नेताहरूसमक्ष पनि सहमतिमै विवाद समाधान गर्ने वातावरण निर्माण गर्न निर्देशन दिएका छन्। देउवा आइतबार संस्थापन पक्षका सात पूर्वपदाधिकारीसँग भेट्ने तयारीमा रहेका छन्। तीमध्ये पूर्वउपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला तथा प्रवक्ता डा. महत रहेका छन्।
यी पूर्वपदाधिकारीहरूले कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधिसभा चुनावपछि मात्र गर्नुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन्। तर अर्कोतर्फ डा. शेखर कोइराला समूह तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको समूह भने आगामी निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्नुपर्ने अडानमा स्थिर छन्। यही विवादका कारण असोज २८ गतेदेखि निरन्तर जारी केन्द्रीय कार्यसमिति बैठक कुनै निष्कर्षमा पुग्न सकेको छैन।

शुक्रबार देउवाले ‘मिलेर अघि बढ्न’ सुझाएपछि कार्यवाहक सभापति खड्काले शनिबार ललितपुरस्थित हिमालय होटलमा गगन थापा, विश्वप्रकाश शर्मा, महेन्द्र यादव, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, रमेश लेखक र धनराज गुरुङसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। तर सहमति बन्न नसकेपछि विवाद यथावत् रहेको भेटमा सहभागी एक नेताले बताए।