काठमाडौ . नेपाल कम्युनिस्ट पार्टी एमाले को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई विद्रोहको सबैभन्दा ठूलो चुनौती पूर्वराष्ट्रपति विद्या देवी भण्डारी र वरिष्ठ नेता ईश्वर पोखरेल समूहबाट आउने निश्चित भएको छ। मंसिर २७–२९ गते भृकुटीमण्डपमा हुने महाधिवेशनमा ओली तेस्रो कार्यकालका लागि निर्विरोध अध्यक्ष बन्ने योजनामा रहे पनि भण्डारी–पोखरेल पक्षले पूर्ण प्यानलसहित प्रतिस्पर्धा गर्ने तयारी गरेको छ।
स्रोतका अनुसार यो समूहले ईश्वर पोखरेललाई अध्यक्षको उम्मेदवार बनाउने र अन्य पदमा पनि आफ्नै प्यानल खडा गर्ने रणनीति बनाएको छ। तर पार्टीभित्रका धेरै नेताहरू भन्छन्, “ईश्वर पोखरेलको उम्मेदवारी भनेको विद्या भण्डारीको उम्मेदवारी हो।” ओलीले गत साउनमा भण्डारीको दोस्रो वर्ष नवीकरण भइसकेको सदस्यता रोक्न लगाएपछि उनी ओलीसँग पूरै असन्तुष्ट बनेकी छिन्। त्यही असन्तुष्टिले अब महाधिवेशनमा प्रत्यक्ष रूप लिँदैछ।
“यो प्रतिस्पर्धा ओली र विद्याबीचको हो,” एमालेका एक पदाधिकारीले नेपालखबरसँग भने, “मदन भण्डारीको विचार र फोटो हटाएर ओलीले आफ्नै फोटो राख्न थालेपछि विद्या भण्डारीले यो अपमान सहन सकिनन्। अब उहाँ पछाडिबाट नेतृत्व गर्दै पोखरेललाई अगाडि सार्दै हुनुहुन्छ।”
ओलीले तेस्रो कार्यकालका लागि विधान संशोधन गरेर बाटो खोलिसकेका छन्। उनले महाधिवेशनमा “सोझै नेतृत्व चयन हुन्छ, धेरै छलफलको आवश्यकता छैन” भन्दै आएका छन्। केही दिनअघि मात्र उनले “मैले बोलेर महाधिवेशन समापन गर्छु” भनेका थिए, जसलाई विपक्षी समूहले “सर्वसम्मतको ढोका बन्द गर्ने घोषणा” का रूपमा लिएको छ। यही अभिव्यक्तिपछि भण्डारी–पोखरेल पक्ष पूरै तातेको छ। “ओलीलाई कुनै हालतमा सर्वसम्मत अध्यक्ष बन्न दिइँदैन,” ती पदाधिकारी भन्छन्, “अब बलियो र सशक्त प्यानल बनाएरै प्रतिस्पर्धा गर्छौं। उम्मेदवारहरू केही दिनभित्रै घोषणा हुन्छन्।”
एमाले सचिव योगेश भट्टराईले खुलमखुला ओलीको तेस्रो कार्यकालको विरोध गरेका छन्। एक अन्तर्वार्तामा भट्टराईले भनेका छन्, “पार्टीको नेतृत्व हस्तान्तरणसहितको रूपान्तरण आवश्यक छ। ओलीले सहज हस्तान्तरण गर्नुभएन भने जसले प्रतिस्पर्धा गर्छ, म उसलाई सहयोग गर्छु। ईश्वर पोखरेल हो भने उहाँलाई, विद्या भण्डारीको सदस्यता खुला गरेर उहाँलाई अगाडि ल्याउनुस् भने उहाँलाई।” उपाध्यक्ष युवराज ज्ञवालीले पनि “नेतृत्व प्रतिस्पर्धाबाटै टुंगिन्छ” भन्दै ओलीको सर्वसम्मत योजनालाई चुनौती दिएका छन्। उनले भद्रकाली प्लेन र जेन–जी आन्दोलनपछि पार्टीले भोगेको संकटको समीक्षा र नीतिगत छलफल अनिवार्य रहेको बताएका छन्।
हाल सचिवालयका १८ सदस्यमध्ये कम्तीमा पाँच जना (युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट) खुलेआम पोखरेल पक्षमा उभिएका छन्। विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठलगायतका नेताहरूले भने अझै पक्ष स्पष्ट गरेका छैनन्।
२,१०० भन्दा बढी प्रतिनिधि चुनिएर आइसकेका छन्। भण्डारी–पोखरेल पक्षले तल्लो तहका प्रतिनिधिमाझ “ओलीको एकलौटी नेतृत्व रोक्न विवेक प्रयोग गर्न” सर्कुलर पठाउने तयारी गरेको छ।
एमालेका एक वरिष्ठ नेताले भने, “ओलीले उम्मेदवारी मनोनयन नै रोक्ने, बोल्न नदिने जस्ता योजना बनाएको चर्चा छ। तर अब त्यो सम्भव छैन। विद्या भण्डारीको असन्तुष्टि र पोखरेलको महत्वाकांक्षाले महाधिवेशन अप्रत्याशित बन्ने निश्चित छ।”
एमालेको यो आन्तरिक लडाइँले पार्टीको भविष्य मात्र होइन, समग्र वामपन्थको दिशा पनि निर्धारण गर्नेछ। मंसिर २७ पछि एमाले पुरानै एमाले रहने वा नयाँ रूप लिने भन्ने प्रश्नको जवाफ आउन अब धेरै दिन बाँकी छैन।

प्रतिक्रिया