यहि मंसिर २६ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको यो फिल्म ‘पीआर’का निर्देशक शोभित बस्नेत अष्ट्रेलिया उडेका छन्। उनले पत्रकार सम्मेलन गर्दै फिल्म रिलिजको लागि आफु अष्ट्रेलिया र न्युजल्याण्ड उड्न लागेको बताए। अष्ट्रेलियामा मात्र नभएर न्युजल्याण्डमा पनि बक्स अफिसमार्फत नै फिल्म प्रदर्शन गर्न र त्यसैको चाँजोपाँजो मिलाउन आफु जान लागेको जानकारी दिए।
तीन महिनाअघि नै अष्ट्रेलियाका विभिन्न शहरमा यो फिल्म प्रदर्शन गरिसकेका उनले फिल्मलाई हेरेका दर्शकले आफ्नै घरको कथा भएको प्रतिक्रिया दिएका थिए। उनले थपे,‘अष्ट्रेलिया,न्युजिल्याण्डपछि पोर्चुगल लगायत देशमा पनि यो फिल्म प्रदर्शनका लागि तयारी भइरहेको छ। यो बाहेक अन्य देशमा पनि केहि दिनमा नै फिल्म प्रदर्शनको टुङ्गो लाग्नेछ।’
शोभित बस्नेतले आफ्नै घरको कथा हेरेर अरुको कथा भन्नका लागि पीआर तयार पारेको बताए। उनले थपे,‘एक त मैले छोरी (सलिना)बाट नै पीआरको कथा पाएको हो। जब एउटा बच्चा विदेश जाँदा हामी बाउआमा नेपालमा बसेर हाम्रो दिमागमा के हुन्छ भने हरेक अष्ट्रेलिया,क्यानडा,जापानमा पैसाको रुख फल्छ। र त्यो पैसा टिपेर हामीलाई पठाउनु पर्यो भन्ने सोच हुन्थ्यो। मलाई पनि हुन्थ्यो। जब मलाई थाहा भयो कि होइन रहेछ।’
उनले आफ्नो छोरी अष्ट्रेलिया जाँदा र आफु पनि त्यहाँ पुगेर हेर्दा पैसा बोटमा हैन रहेछ। मेहनतले मात्रै हुने रहेछ भन्ने देखेको र सोही कथालाई आफुले फिल्म ‘पीआर’मार्फत भन्न लागेको बताए। उनी आफ्नो फिल्म ‘पीआर’नेपाली दर्शकले मन पराइदिनेमा ढुक्क देखिए। केहि दिनअघि यो फिल्ममा समावेश गीत ‘टाटा बाई बाई’लाई दर्शकले अत्यधिक मन पराइदिएको र सोही अनुसार फिल्म हेर्न दर्शक उत्सुक रहेको उनको भनाई थियो।
उनी विदेशको विभिन्न हलमा आफ्नो फिल्म प्रदर्शनका लागि व्यापाक लागेका छन्। उनले जापानको प्रदर्शन अधिकार सोल्ट आउट नै भइसकेको बताए।
फिल्ममा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा, र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी., र दिक्पाल कार्की देखिने छन्।
यस फिल्मका प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन्। गणेश बुढाथोकीको लेखन तथा बन्दे प्रसादले सम्पादन गरेको फिल्मको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका हुन्। वितरणको जिम्मा आर.आर. फिल्म्सले लिएको छ।

प्रतिक्रिया