सभापति देउवा पक्षको ‘प्याकेज डिल’ कोइराला समुहद्धारा ठाडै अस्वीकार

सभापति देउवा पक्षको ‘प्याकेज डिल’ कोइराला समुहद्धारा ठाडै अस्वीकार


काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्य अनिल रुँगटामार्फत् पुस मसान्तसम्ममा नियमित महाधिवेशन गर्नेगरी सहमतिको कार्यतालिका केन्द्रीय समितिमा पेस गर्ने प्रस्ताव डा शेखर कोइराला र महामन्त्रीद्धय गगन थापा , विश्वप्रकाश शर्मालेअस्वीकार गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि बुझाइएका हस्ताक्षर थाँती राखेर पुस मसान्तमा पार्टीको १५ औँ नियमित महाधिवेशन गर्ने प्रस्ताव अस्वीकार गरेका छन् । सभापति शेरबहादुर देउवाले कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्य अनिल रुँगटामार्फत् पुस मसान्तसम्ममा नियमित महाधिवेशन गर्नेगरी सहमतिको कार्यतालिका केन्द्रीय समितिमा पेस गर्ने प्रस्ताव डा शेखर कोइराला र महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा लाई पठाएका थिए ।
त्यो प्रस्तावमा प्रतिक्रिया नदिएर सल्लाह गर्ने प्रतिक्रिया दिएका महामन्त्रीद्वय थापा र शर्मासँग त्यही प्रस्तावबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छलफल गरेका थिए । खड्कासँगको छलफलमा प्रस्तावभित्र तालिका मात्रै ल्याउने तर महाधिवेशन गराउने बिश्वासिलो आधार नदेखेका कारण अस्वीकार गरेको एक नेताले बताएका छन् ।
छलफलमा संस्थापन पक्षले गत कात्तिक १९ गतेको केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले पेस गरेको पुस १६ देखि १९ गतेसम्मको तालिकालाई केही परिमार्जन गर्ने दोस्रो विकल्प पनि प्रस्तुत गरेको थियो । त्यो पनि उनीहरूले अस्वीकार गरेको स्रोत बताउँछ ।

कार्यवाहक सभापति खड्कासँग बुधबार दिउँसो भएको छलफलमा महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन हुन नसक्ने भन्दै २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको माग बमोजिम विशेष महाधिवेशनको निर्णय लिनुपर्ने बताएका थिए ।