टाइटानिकका यात्रु इसिडोर स्ट्रासको सुनको पकेट घडी ३३ करोड मूल्यमा बिक्री

टाइटानिकका यात्रु इसिडोर स्ट्रासको सुनको पकेट घडी ३३ करोड मूल्यमा बिक्री


काठमाडौ ।
११३ वर्षअघि डुबेको टाइटानिक जहाजमा मृत्यु भएका अमेरिकी अर्बपति व्यापारी इसिडोर स्ट्रासको सुनको पकेट घडी शनिबार बेलायतमा रेकर्ड मूल्यमा बिक्री भएको छ। १८ क्यारेट सुनले बनेको यो दुर्लभ जुल्स जुर्गेनसेन पकेट घडी बेलायतको विल्टसायरस्थित हेनरी एल्ड्रिज एन्ड सन नीलामी घरमा १.७८ मिलियन (करिब नेपाली रुपैयाँ ३३ करोड ५० लाख) मा बिक्री भएको हो। यो टाइटानिकसँग सम्बन्धित कुनै पनि सामग्रीको अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो।
सन् १९१२ अप्रिल १४ मा उत्तर एट्लान्टिक महासागरमा हिमशैलसँग ठोक्किएर डुबेको टाइटानिकमा इसिडोर स्ट्रास र उनकी श्रीमती इडा स्ट्रास पनि थिए। इसिडोर त्यतिबेला न्युयोर्कको प्रसिद्ध मेसी डिपार्टमेन्ट स्टोरका सह–मालिक तथा अमेरिकी कांग्रेसका पूर्वसदस्य थिए।
दुर्घटनाको केही दिनपछि इसिडोरको शव एट्लान्टिक महासागरबाट निकालिएको थियो।

त्यसबेला उनको कोटको खल्तीमा यो सुनको पकेट घडी सुरक्षित अवस्थामै भेटिएको थियो। तर उनकी श्रीमती इडाको शव भने आजसम्म पनि फेला परेको छैन।
“महिलाहरू र बच्चाहरूलाई पहिले बचाउनुहोस्” भन्ने नियमअनुसार इडाले आफ्नो पालो छोडेर श्रीमान्सँगै जहाजमा रहने निर्णय लिएकी थिइन्। यो प्रेमकथा टाइटानिकको सबैभन्दा मार्मिक कथाहरूमध्ये एक मानिन्छ।
टाइटानिकलाई त्यतिबेला “कहिल्यै नडुब्ने जहाज” भनिएको थियो। तर सन् १९१२ अप्रिल १४–१५ को मध्यरातमा २ घण्टा ४० मिनेटभित्रै यो विशाल पानीजहाज ३,८०० मिटर गहिराइमा डुब्यो। त्यस दुर्घटनामा २,२०० भन्दा बढी यात्रु तथा चालक दलमध्ये १,५१७ जनाको ज्यान गएको थियो।
यो घडीसँगै टाइटानिकका अन्य सामग्रीहरू पनि नीलामीमा राखिएका थिए। तीमध्ये जहाजको काठको प्यानलको टुक्रा घ्५०,००० भन्दा बढी र भायोलिन खेल्ने ब्यान्ड सदस्यको भायोलिनको केस पनि लाखौँ पाउन्डमा बिक्री भएको छ।
टाइटानिकको इतिहास अझै पनि विश्वभरि मानिसहरूलाई आकर्षित गरिरहेको छ। ११३ वर्ष बितिसक्दा पनि यसका सामग्रीहरू करोडौँमा बिक्री हुनुले यो जहाजको कथा कहिल्यै नमेटिने प्रमाण दिएको छ।