काठमाडौ । आगामी मंसिर २७–२९ मा चितवनमा हुने नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल–उपाध्यक्ष विद्या भण्डारी पक्षबीच कडा प्रतिस्पर्धा हुने पक्का भएको छ। दुवै पक्षले छुट्टाछुट्टै प्यानल बनाउने तयारी गरेका छन् भने अध्यक्षपछिको सबैभन्दा शक्तिशाली मानिने महासचिव पदमा हाइप्रोफाइल नेताहरू आमनेसामने हुने भएका छन्।
ओली पक्षबाट महासचिवका बलिया दाबेदारहरूमा वर्तमान महासचिव शंकर पोखरेल उपमहासचिव प्रदीप ज्ञवाली रपृथ्वीसुब्बा गुरुङ छन्। निकटस्थहरूका अनुसार ओलीको पहिलो रोजाइ शंकर पोखरेल नै हुन्। दसौँ महाधिवेशनमा ओलीको पूर्ण साथ पाएका पोखरेललाई निरन्तरता दिने मनस्थितिमा अध्यक्ष छन्। तर, गत विधान महाधिवेशनमा ओलीको राजनीतिक प्रतिवेदन वाचन गरेका प्रदीप ज्ञवालीलाई महासचिव बनाउने सम्भावना पनि उत्तिकै बलियो छ। ज्ञवालीले खुलेरै महासचिवमा दाबी गरिसकेका छन्।
यता, विद्या–ईश्वर समूहबाट महासचिवका आकांक्षीहरूमा पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्ट छन्। समूहभित्र छलफलपछि ईश्वर पोखरेलले सुरेन्द्र पाण्डेलाई महासचिव उम्मेदवार बनाउने तयारी गरेका छन्। पाण्डे तयार नभए योगेश भट्टराई वा गोकर्ण विष्टमध्ये एकजनालाई अघि सारिने भएको छ। “महासचिव पद अध्यक्षपछिको कार्यकारी र उत्तराधिकारी पद हो। त्यसैले दुवै पक्षले आफ्नो सबैभन्दा विश्वासिलो नेतालाई यो पदमा राख्न खोजेका छन्,” एमालेका एक वरिष्ठ नेताले भने। दसौँ महाधिवेशनमा ओलीले शंकर पोखरेललाई महासचिव बनाएर संगठनको कमाण्ड आफैँसँग राखेका थिए। यसपटक विद्या–ईश्वर समूहले प्यानल बनाएपछि ओलीमाथि आफ्ना पुराना र विश्वासिला नेतालाई टिकाउने ठूलो दबाब परेको छ।
तीन उपाध्यक्ष र दुई सचिव विद्या–ईश्वर पक्षमा खुलेपछि ओलीले जित सुनिश्चित हुने नेतालाई मात्र पदाधिकारी बनाउनुपर्ने बाध्यता छ। “धेरै नेतालाई दोहोर्याउनुपर्ने, नयाँलाई बढुवा गर्नुपर्ने र विद्या–ईश्वर समूहसँग प्रतिस्पर्धा गर्न सक्ने टिम बनाउनुपर्ने तीनवटै दबाब अध्यक्षमाथि छ,” ओलीनिकट एक नेताले भने, “अन्तिम समयसम्म प्यानल र उम्मेदवार फेरबदल हुन सक्छ।”
महाधिवेशनमा दुई प्यानल बने १५ पदाधिकारी पदमा निर्वाचन हुने निश्चित छ।
अध्यक्षमा ओली र ईश्वर पोखरेलबीच सीधा भिडन्त हुने अवस्था बनेको छ भने महासचिवको लडाइँ पनि उत्तिकै रोचक हुने देखिएको छ।

प्रतिक्रिया