देउवा र पदाधिकारीबीच आज निर्णायक छलफल

देउवा र पदाधिकारीबीच आज निर्णायक छलफल

पुस मसान्तसम्म नियमित अधिवेशन गर्ने अडान


काठमाडौ । नेपाली कांग्रेसको आगामी महाधिवेशन नियमित गर्ने कि विशेष भन्ने विवाद मिलाउन सभापति शेरबहादुर देउवा निरन्तर छलफलमा जुटेका छन्। आज (शनिबार) दिउँसो २ बजे आफ्नै निवास महाराजगञ्जमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग उनले फेरि छLफल गर्दैछन्। शुक्रबारको छलफलमा सभापति देउवाले विशेष महाधिवेशनको कुनै सम्भावना नरहेको स्पष्ट पारेका थिए। उनले आफू नेतृत्व छोड्न तयार भएको बताउँदै नेताहरूबीचको विवादले पार्टीको समय खेर गइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

“मैले त नेतृत्व छोड्नेसम्म भनिसकेँ, तपाईंहरू नियमित र विशेषको नाममा किन विवाद झिकिरहनु भएको छ ?” देउवालाई उद्धृत गर्दै एक पदाधिकारीले भने, “पुस मसान्तभित्र नियमित महाधिवेशन सम्पन्न गर्न सकिन्छ। सबैले इमानदार प्रयास गरौँ।” ती पदाधिकारीका अनुसार शुक्रबारको छलफल सकारात्मक दिशामा अघि बढेको छ र आजको बैठकमा लगभग सहमति जुट्ने सम्भावना छ।

“हामी सहमतिको निकै नजिक पुगिसकेका छौँ। आजसम्म टुंगो लाग्छ भन्ने विश्वास छ,” ती नेताले नेपालखबरसँग भने। कांग्रेसको विधानअनुसार १५औँ महाधिवेशन आगामी फागुनमा तोकिएको छ। तर क्रियाशील सदस्यता विवाद र अन्य तयारी नपुगेको भन्दै केही नेताले विशेष महाधिवेशनको माग गर्दै आएका छन्। सभापति देउवा पक्ष भने नियमित महाधिवेशनको पक्षमा दृढ छ।