देउवाले बोलाए डा शेखरसहित आफ्नै निवासमा बैठक

देउवाले बोलाए डा शेखरसहित आफ्नै निवासमा बैठक


काठमाडौँ । पार्टीभित्र देखिएको महाधिवेशन विवाद मिलाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आह्वान गरेका छन् ।   दिउँसो १ बजे आफ्नै निवास महाराजगन्जमा हुने बैठकमा इतर समूहका नेता डा. शेखर कोइराला, निवर्तमान गृहमन्त्री रमेश लेखकसहितका पदाधिकारी र पूर्वपदाधिकारी नरहेका वरिष्ठ नेताहरूलाई पनि बोलाइएको एक नेताले जानकारी दिए ।

गत असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि एक महिनासम्म पार्टीका गतिविधिमा नदेखिएका देउवाले पार्टीभित्र महाधिवेशनबारेको विवाद झन गहिरिँदै गएपछि पुनः सक्रियता देखाएका हुन् । बिहीबारदेखि नेताहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका देउवाले आइतबार दुबैतर्फका नेताहरूलाई भेटमा बोलाएका हुन् ।

कांग्रेसमा संस्थापन पक्षका केही नेताले पार्टीको १५ औँ महाधिवेशन फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै गर्नेमा अड्डी कसेपछि विवाद भइरहेको छ । निर्वाचन अगाडि महाधिवेशन गर्नै हुन्न भन्ने पक्षमा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । संस्थापन पक्षमा अरु नेताहरू पनि निर्वाचन पछाडि महाधिवेशन गर्नपर्छ भनिरहेका थिए । तर, पार्टीको विवाद समाधान गर्न मध्यमार्गी नेताहरूको प्रयासपछि उनीहरू निर्वाचन अगाडि महाधिवेशनको प्रक्रिया सुरु गर्न राजी भएका छन् ।

तर निधि र सिटौला सहमत नहुँदा समस्या भइरहेको एक नेताले जानकारी दिए । कांग्रेस नेताहरूले देउवाको आह्वानमा हुने यो छलफलले नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषय आज टुङ्ग्याउने तयारी छ ।