काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आज एकता घोषणा हुँदैछ । कुनै पनि पदीय बार्गेनिङबिना निशर्तरुपमा विवेकशीलको नेतृत्व रास्वपाका समाहित हुन लागेको दुवै पक्षका नेताहरूले बताएका छन् ।
आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणा कार्यक्रम हुन लागेको हो । एकताका लागि लामो समयदेखि विभिन्न चरणमा वार्ता र छलफलहरू भएका थिए । तर, विवेकशीलको नेतृत्व रास्वपाका कसरी मर्ज हुन्छ भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन । रास्वपाका समाहित भएसँगै विवेकशीलको अस्तित्व भने मेटिने छ ।
रास्वपाले गत १२ मंसिरमा भर्चुअल बैठक गरेर विवेकशील साझासँग एकीकरण प्रस्तावलाई अनुमोदन गरेको थियो । त्यससँगै पार्टीले ‘संघीय नेतृत्व मञ्च’ नामक एउटा नयाँ संयन्त्र निर्माण गर्ने प्रस्ताव पनि सो बैठकले गरेको थियो । रास्वपाका समाहित हुन आउने वैकल्पिक धारका नेताहरूलाई यो मञ्चमा समेट्ने रणनीति रास्वपाले बनाएको छ । पार्टीका प्रवक्ता मनिष झाका अनुसार यो संरचना अस्थायी हो, जुन पार्टीको आगामी महाधिवेशनसम्म मात्रै कायम रहनेछ ।
रास्वपाका १२१ सदस्यीय केन्द्रीय समिति रहने विधानमा व्यवस्था छ । तर, अहिले केन्द्रीय सदस्य ५८ जना मात्रै छन् । महाधिवेशनअघि केन्द्रीय सदस्य थप्नु वाञ्छनीय नहुने भएकाले नयाँ संरचना निर्माण गरिएको प्रवक्ता झाले बताए ।
उनले भने, ‘अब हामी महाधिवेशनसम्म नयाँ केन्द्रीय सदस्य थप्दैनौँ । रास्वपाका आउने वैकल्पिक धारका नेताहरूलाई संघीय मञ्चमा समेटिने छ भने पार्टीभित्रका केन्द्रीय सदस्य बन्न योग्य नयाँ साथीहरूलाई पनि यसमा राखिने छ ।’
संघीय नेतृत्व समितिका सदस्यहरूको केन्द्रीय सदस्य बराबर नै राजनीतिक हैसियत रहने छ । समितिमा रहेका नेताहरूले रास्वपाका आवश्यकता अनुसार विभिन्न जिम्मेवारी र भूमिका पाउन सक्नेछन् ।
स्रोतका अनुसार विवेकशील साझाबाट रास्वपाका आउने प्रमुख नेताहरूलाई संघीय नेतृत्व समितिमा स्थान दिने तयारी छ । विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा र महासचिव रञ्जु दर्शना यसै समितिमा रहने छन् । अरू कोको नेताहरूलाई स्थान दिने भन्ने टुंगो लागिसकेको छैन ।

प्रतिक्रिया