कांग्रेसको निर्णय : देउवालाई १५ औँ महाधिवेशनमा सक्रिय हुने बाटो खुला

कांग्रेसको निर्णय : देउवालाई १५ औँ महाधिवेशनमा सक्रिय हुने बाटो खुला


काठमाडौ । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवालाई आगामी १५औँ महाधिवेशनमा पूर्ण रूपमा सक्रिय हुने औपचारिक बाटो खोलिदिएको छ। सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गर्दै देउवालाई महाधिवेशन प्रक्रियामा प्रत्यक्ष संलग्न हुन मिल्ने गरी व्यवस्था गरेको हो।
बैठकले पारित गरेको निर्णयको पूर्ण वाक्य यस्तो छ
“१५औँ महाधिवेशनसँग सम्बन्धित कार्यको सिलसिलामा आवश्यकताअनुसार केन्द्रीय प्रतिनिधि पार्टी सभापति र कार्यवाहक सभापतिले खटाउन सक्नेछन्।”
यो निर्णयले सभापति देउवाले अब वडादेखि प्रदेशसम्मका अधिवेशनमा केन्द्रीय प्रतिनिधि खटाउने, निरीक्षण गर्ने, मार्गदर्शन दिने र आवश्यक परे आफैं उपस्थित भएर सक्रिय भूमिका निर्वाह गर्न पाउनेछन्।
संस्थापनइतर पक्षले लामो समयदेखि देउवालाई महाधिवेशन प्रक्रियाबाट अलग राखेर विशेष महाधिवेशनको माग गर्दै आएको थियो। तर आजको निर्णयले विशेष महाधिवेशनको सम्भावना पूरै टरेको र देउवा नै नियमित महाधिवेशनमा सक्रिय रहने संकेत गरेको छ ।
“यो निर्णयले सभापतिज्यूलाई पूर्ण अधिकार दिएको छ,” एक केन्द्रीय सदस्यले भने, “अब महाधिवेशनको हरेक चरणमा उहाँको प्रत्यक्ष उपस्थिति र प्रभाव रहनेछ।”
बैठकले पुस मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पनि अनुमोदन गरेको छ। देउवा निकट नेताहरूका अनुसार उनी मंसिर २० गतेपछि स्वदेश फर्किने र तुरुन्तै महाधिवेशन केन्द्रित गतिविधिमा जुट्ने तयारीमा छन्।