कांग्रेसका उम्मेदवार छनोटका लागि १० कडा सर्त सार्वजनिक

कांग्रेसका उम्मेदवार छनोटका लागि १० कडा सर्त सार्वजनिक


काठमाडौ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार बन्न चाहने नेताहरूका लागि १० वटा कडा मापदण्ड तोकेको छ। सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार प्रदेश, जिल्ला र क्षेत्रीय समितिलाई परिपत्र जारी गर्दै यी सर्त पालना गर्न अनिवार्य गरेको हो।
परिपत्रमा उल्लेखित प्रमुख सर्तहरू यस प्रकार छन्

– पार्टी विधान २०१७ (संशोधनसहित को धारा ३) अनुसार क्रियाशील सदस्यता र अन्य योग्यता पूरा भएको हुनुपर्ने
– जातीय विभेद, घरेलु हिंसा, बालश्रम वा कुनै पनि सामाजिक विसंगतिमा दोषी ठहरिएकालाई उम्मेदवार नबनाउने
– २०७९ को निर्वाचनमा समानुपातिकतर्फ प्रतिनिधि सभा वा प्रदेश सभा सदस्य निर्वाचित भएका व्यक्तिलाई २०८२ मा समानुपातिक उम्मेदवार नबनाउने
– २०७९ को प्रदेश सभा समानुपातिक बन्दसूचीमा परेकालाई प्रतिनिधि सभा समानुपातिकमा सिफारिस गर्न नपाउने
-२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई यसपटक टिकट नदिने
-पार्टीले तोकेको लेवी नबुझाउने कुनै पनि व्यक्तिलाई उम्मेदवार नबनाउने
– एक व्यक्तिलाई एक पदमा मात्र सिफारिस गर्नुपर्ने (प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभा मध्ये एक मात्र)
-प्रत्येक सिटका लागि बढीमा ३ जनाको नाम मात्र सिफारिस गर्न पाउने
-समानुपातिक उम्मेदवारले नागरिकता, मतदाता परिचय, स्वघोषणा, सम्पत्ति विवरणलगायत सबै कागजात अनिवार्य पेस गर्नुपर्ने
-पार्टीका आन्दोलन, अभियान र निर्वाचनमा निरन्तर सक्रिय र उच्च नैतिक चरित्र भएका व्यक्तिलाई प्राथमिकता दिने

कांग्रेसले यसअघिका निर्वाचनमा उम्मेदवार सिफारिसमा देखिएको भद्रगोल अन्त्य गर्न यसपटक कडा बन्देज लगाएको जनाएको छ। केन्द्रीय कार्यालय स्रोतका अनुसार, ‘जसले जति फाराम भरे पनि सबैको नाम केन्द्रमा पठाउने परिपाटीले गठबन्धन र टिकट वितरणमा समस्या भएको थियो, त्यसैले पहिल्यै सीमा तोकेर परिपत्र गरिएको हो।’ मंसिर मसान्तभित्र सबै तहबाट उम्मेदवारको नाम केन्द्रमा पठाइसक्नुपर्ने समयसीमा तोकिएको छ। कांग्रेसले यसपटक राष्ट्रिय सभा र प्रतिनिधि सभाको प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारको टुंगो एकैपटक लगाउने तयारी गरेको छ।