प्रतिनिधि सभा विघटन विरुद्ध एमालेले दर्ता गरेको रिटमा कारण देखाउ आदेश जारी

प्रतिनिधि सभा विघटन विरुद्ध एमालेले दर्ता गरेको रिटमा कारण देखाउ आदेश जारी


काठमाडौँ। प्रतिनिधि सभा विघटन विरुद्ध नेकपा (एमाले) ले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको छ ।

प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतसहितको पाँच न्यायाधीशको इजलासले बुधबार ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

त्यस्तै संवैधानिक इजलासले यसअघि दर्ता भएर विचाराधीन रहेका प्रतिनिधिसभा विघटनविरुद्धका रिटसँगै राख्न पनि सर्वोच्च अदालत प्रशासनलाई आदेश दिएको छ ।

एमालेले रिटमा अन्तरिम आदेश माग गरे पनि संवैधानिक इजलासले अन्तरिम आदेश भने जारी गरेको छैन ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राउतसँगै न्यायाधीश सपना प्रधान, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डा. मनोजकुमार शर्मा रहेका थिए । एमालेबाट तत्कालीन प्रतिनिधि सभा संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौला र सचेतक सुनिता बरालले प्रतिनिधि सभा विघटन विरुद्ध मुद्दा दायर गरेका थिए ।