काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नियमित महाधिवेशनको मिति पार्टीको केन्द्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरी घोषणा गरिसकेको अवस्थामा विशेष महाधिवेशनको कुरा उठाउनु असान्दर्भिक भएको बताएका छन्।
सभापति देउवाको अस्थायी निवास महाराजगञ्जमा भेट गर्न बिहीबार गएका पार्टीका तरुण, युवाहरूको टोलीसँग देउवाले १५ औं महाधिवेशनमार्फत पार्टीलाई एकढिक्का बनाएर निर्वाचनमा जानु पर्ने बताएका हुन्।
देउवालाई भेट्न नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचन, नेविसंघ पूर्वमहामन्त्री सरोजकुमार थापा, नेविसंघ पूर्वउपाध्यक्ष पुष्प शाहीसहित नेताहरु थलकुमार लिङ्खा, मनिष थापा, गीता गुरुङ, तीर्थ गौतम, इन्दु शर्मा, अन्जान लामा लगायत पुगेका थिए।
भेटमा सहभागी नेविसंघ पूर्व महामन्त्री थापाले नियमित महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा विशेष महाधिवेशनको चर्चा गर्नु असान्दर्भिक हुने देउवाले बताएको जनाए।
‘‘नियमित महाधिवेशनमा पार्टी अघि बढेको अवस्थामा अझै पनि विशेष महाधिवेशनको चर्चा गर्नु असान्दर्भिक हो। आशङ्का र प्रचारबाजीलाई युवा र विद्यार्थीले चिर्दै अघि बढ्नुपर्छ,’ देउवाको भनाइ उद्धृत गर्दै थापाले भने।
भेटमा युवाहरूले विधि र प्रक्रिया अनुरूप निर्धारित समयमा महाधिवेशन गर्न र वडादेखि केन्द्रसम्म पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रिया अघि बढाउन र युवाहरूको महाधिवेशनमा उल्लेखनीय उपस्थिति बढाउन सभापति देउवाको ध्यानाकर्षण गराएका थिए।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
देउवालाई युवाहरूले फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा स्वच्छ छवि भएका, आर्थिक पारदर्शिता हासिल गरेको युवालाई नयाँ अनुहारको रूपमा पार्टीको तर्फबाट उम्मेदवार बनाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया