नख्खु पुगेर सुदन गुरुङले भेटे रवि लामिछाने

नख्खु पुगेर सुदन गुरुङले भेटे रवि लामिछाने


काठमाडौँ । जेन जेड अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । बिहीबार नख्खु कारागार पुगेर गुरुङले लामिछानेसँग भेट गरेका हुन् ।

लामिछानेसँगको भेटमा सबै वैकल्पिक शक्ति मिल्नुपर्ने प्रस्ताव आफूले राखेका र त्यसमा लामिछाने सकारात्मक देखिएको गुरुङले बताएका छन् ।

‘हामी सकारात्मक छौँ । तपाईँहरू मिलाउन लाग्नुस् । हामी मिल्नुपर्छ भनेर उहाँले भन्नुभयो,’ गुरुङले भने, ‘यदि सबै सकारात्मक भए रास्वपा मिल्नका लागि तयार रहेको र त्यसका लागि छलफल गर्न तयार रहेको बताउनुभयो ।’

यसबाहेक आफूलाई अन्याय भएको विषय पनि लामिछानेले सुनाए । उनले सहकारी ठगी प्रकरणमा आफूमाथि अन्याय भएकाले छिटो न्याय पाउनुपर्ने अपेक्षा गुरुङसँग राखेका थिए ।

‘बरु मलाई गल्ती गरेको भए कारबाही होस् । हैन भने न्याय होस् । यसको छिटो निरूपणका लागि पहल गरिदिनुस्,’ रविलाई उद्धृत गर्दै गुरुङले भने ।

रविको यो प्रस्तावमा गुरुङले पनि आफूहरूले यसका लागि पहल गर्ने बताए । ‘न्यायलयले भन्ने कुरा हो, सही या गलत भनेर । अब त्यो छिटो गर्नुपर्‍यो भनेर हामीले पहल गर्छौँ भन्यौँ,’ गुरुङले भने ।

त्यसबाहेक रविले जेन जेड आन्दोलनमा आफ्नो पूर्ण साथ रहेकाले देश बनाउने अभियानमा एक भएर लाग्न पनि अनुरोध गरेको गुरुङले बताए ।

योसँगै बालेन र कुलमानको भेटघाटमा पनि आफूले सहजीकरण गरेको दाबी गुरुङले गरे । उज्यालो नेपालका एक शीर्ष नेतासँग बुझ्दा पनि गुरुङले बालेनसँग भेट गर्न सहजीकरण गरेको र मिलनको लागि भूमिका खेलेको स्वीकारेका छन् ।

‘सुदन जी सुरुबाटै मिल्नुपर्छ भनिरहनुभएको छ । त्यो भेटमा उहाँसहित अरूको पनि भूमिका थियो,’ ती नेताले भने ।

यसरी विशेष गरी कुलमान, रवि र बालेन मिलाउने उद्देश्यले हिडेका गुरुङले वैकल्पिक धारका विभिन्न शक्तिसँग समन्वय गर्ने बताएका छन् ।