शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै विराटनगर किंग्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा स्थान पक्का गरेको छ।
शनिबार भएको पहिलो खेलमा विराटनगरसँग ६ विकेटले पराजित भएपछि सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविराम लागेको हो। लगातार ६ खेलमा अपराजित रहेको सुदूरपश्चिमले लिग चरणको अन्तिम खेलमा आएर हार भोगेको छ।
सुदूरपश्चिमलाई ११.५ ओभरमा हराएपछि दोस्रो स्थानमा उक्लेको विराटनगरले पहिलो क्वालिफायरमा स्थान बनाएको हो। सुदूरपश्चिमले दिएको एक सय ४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो।
पहिलो विकेटका लागि ओपनर साम हेजलेट र फाफ डु प्लेसिसले ७.१ ओभरमा ९७ रनको साझेदारी गरेपछि विराटनगरले रोमाञ्चक जित हात पारेको हो। २० बलमा पाँच चौका र चार छक्का प्रहार गरेका फाफ ५० रन बनाउँदा अविनास बोहराको बलमा बोल्ड आउट भए
२७ बलमा तीन चौका र चार छक्का प्रहार गरेका साम ५१ रन बनाउँदा हरमित सिहंको बलमा विकेटकिपर विनोद भण्डारीको हातबाट आउट हुन पुगे। विराटनगरले पावर प्लेमा विना विकेटको क्षति ८७ रन बनाएको थियो। जारी एनपीएलमा पावर प्लेमा बनेको यो सर्वाधिक रन हो।

प्रतिक्रिया