विराटनगर । दुई महिनादेखि रहस्य बनेको मोरङको लेटाङ–२ की १३ वर्षीया बालिका अंशु गौतमको बलात्कारपछि हत्या प्रकरण प्रहरीले सोमबार सुल्झाएको छ। हत्याको मुख्य अभियुक्तका रूपमा प्रहरीले बालिकाकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ।
गत असोज २१ गते दिउँसो स्कूलचोकमा साथी युरिका महतरासँग खेलिरहेकी अंशुलाई पदमबहादुरले “घाँस काट्न सघाइदेऊ, पैसा दिन्छु” भन्दै फकाएर जंगलतर्फ लगेका थिए। प्रहरीका अनुसार उनले बालिकालाई साइकलमा राखेर बेलबारी–चिसाङ साझेदारी वनभित्र लगेका थिए। सुनसान ठाउँमा घाँस काट्ने बहानामा जबरजस्ती करणीको प्रयास गरे। बालिकाले प्रतिकार गरेपछि उनले हातले घाँटी थिचेर र पछि हँसियाँले घाँटी रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
हत्या गरेपछि पदमबहादुर घाँसको भारी बोकेर सामान्य अवस्थामै घर फर्किएका थिए। उनी राति अबेरसम्म अंशु हराएको खोजीमा पनि सक्रिय देखिए। बालिकाको परिवारलाई सान्त्वना दिने र “भेटिन्छिन्” भन्दै हिँडेका थिए। कात्तिक ७ गते घाँस काट्नेहरूले जंगलभित्र बालिकाको क्षतविक्षत शव फेला पारेका थिए। शव र कपडा छुट्टाछुट्टै ठाउँमा फालिएको अवस्थामा भेटिएको थियो।
घटनाको प्रकृति निर्मला पन्त हत्या प्रकरणसँग मिल्दोजुल्दो भएकाले प्रहरीमाथि चर्को दबाब र आलोचना परेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङ र केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० को संयुक्त टोलीले ३०० भन्दा बढीसँग बयान लिएर, १६ जनाको पोलिग्राफ परीक्षण गरेर अनुसन्धान अघि बढाएको थियो। तर, छिमेकी र वृद्ध उमेरका कारण पदमबहादुर सुरुमा शंकाको घेरामा परेका थिएनन्।
अनुसन्धान साँघुरिँदै गएपछि कात्तिक १९ गते पदमबहादुर अचानक घर छाडेर भारतको मेघालय हिँडे। त्यसअघि जेलमा सजाय भुक्तान गरेका उनको छोरा जबरजस्ती करणी मुद्दामा १८ कात्तिकमा घर फर्किएका थिए। छोरा घर आएपछि “तैंले घर सम्हाल, म कमाउन जान्छु” भन्दै परिवारसँग सल्लाह नगरी उनी भारत पुगेका थिए। यो अस्वाभाविक व्यवहारले प्रहरीको शंका बढ्यो।प्रहरीले आफन्तमार्फत फकाउँदा पनि नफर्केपछि सीआईबीको टोली मेघालय जाने तयारी गर्दै थियो। अन्ततः मंसिर १८ गते साँझ पदमबहादुर घर फर्किए। भोलिपल्ट प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा सुरुमा इन्कार गरे पनि पछि उनले पूरै अपराध स्वीकार गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। “घटनापछि आत्मग्लानि भएको थियो” भन्दै उनले बयान दिएका छन्।
प्रहरीले पदमबहादुरविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ। यो घटनाले फेरि एकपटक बालिकामाथि हुने यौन हिंसा र हत्याको गम्भीर विषयलाई सतहमा ल्याएको छ। प्रहरीले दुई महिनाको कडा मेहनतपछि अभियुक्त समात्न सफल भएको भन्दै पीडित परिवारलाई न्याय दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया