काठमाडौँ। सडक डिभिजन हेटौँडाले बजारको मुख्य सडक विस्तार कार्य तत्कालका लागि स्थगित गरेको छ ।
हेटौँडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण स्थगित गरिएको जनाइएको छ ।
सडक डिभिजनले शनिबार एकै दिन करिब ५०० वटा घर भत्काएको थियो । भत्काइएको घरबाट सामन निकाल्न दुई दिनको समय दिइएको छ ।
सर्वोच्च अदालतले हेटौँडाको सडक विस्तार सम्बन्धी सूचना कार्यान्वयन नगर्न १९ मंसिरमा उत्प्रेषण आदेश दिएको थियो ।
पूर्वप्रतिनिधि सभा सदस्यसमेत रहेकी स्थानीय विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले शुक्रबार सडक विस्तारको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्नु, राख्न लगाउनु भन्दै सडक डिभिजन कार्यालय हेटौँडाको नाममा आदेश दिएको हो ।
उनले अन्तरिम आदेश माग गर्दै गत १६ मंसिरमा सडक डिभिजनविरुद्ध रिट दायर गरेकी थिइन ।
सडक डिभिजनले गत ५ मंसिरमा महेन्द्र राजमार्गको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र त्रिभुवन राजपथको बुद्धचोकदेखि सामरी पुलसम्मको सडक सीमा २५/२५ गज (७५/७५ फिट) विस्तारका लागि भन्दै सडक सीमाभित्रका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिँदै सूचना निकालेको थियो ।

प्रतिक्रिया