काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी कार्यालयका तत्कालीन प्रमुखसहित पाँच कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मंगलवार आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका तत्कालीन कार्यालय प्रमुख भोला प्रसाद थापा, तत्कालीन इन्जिनियर वसन्त कुमार दुलाल, तत्कालीन अधिकृत छैटौँ माधव प्रसाद तिमिल्सेना, तत्कालीन सवइन्जिनियर नुतन आचार्य र तत्कालीन लेखापाल मनोज विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
यस्तै आयोगले जय काली ड्रिलिङ्ग्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. र सोका प्रबन्ध निर्देशक शेखर शर्माविरुद्ध पनि सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । उनिहरुबिरुद्ध एघार लाख एघार हजार आठ सय चवालिस रुपैयाँ उनन्तीस पैसा बिगो कायम गरिएको छ ।
उनीहरूले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आह्वान गरेको बोलपत्रको ठेक्कामा बढी कबोल रकम भएको कम्पनीलाई ठेक्का दिएको, उक्त कार्यालयले सो ठेक्काको मुचुल्का पनि नपठाएको र आशयको सूचना स्थानीय पत्रिकामा मात्र प्रकाशन गरेको पाइएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया