७७ जिल्ला सभापतिहरूसँग छलफल गर्दै कार्यवाहक सभापति खड्का र दुवै महामन्त्री

७७ जिल्ला सभापतिहरूसँग छलफल गर्दै कार्यवाहक सभापति खड्का र दुवै महामन्त्री


काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूसँग छलफल गर्ने भएका छन्।

बुधबार बिहान ८ बजेदेखि ७७ जिल्ला सभापतिहरूसँग कार्यवाहक सभापति र दुवै महामन्त्रीले भर्चुअल रूपमा कुराकानी गर्न लागेका हुन्।

‘भोलि बिहान जिल्ला सभापतिहरूसँग भर्चुअल रूपमा कुराकानी गर्ने कार्यक्रम छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने।

क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणबारे भइरहेका कामकाज, राष्ट्रिय सभा र प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार सिफारिसलगायत विभिन्न विषयमा कार्यवाहक सभापति र दुवै महामन्त्रीहरूले जिल्ला सभापतिहरूसँग कुराकानी गर्न लागेका हुन्।

काँग्रेसले १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने कार्यतालिका ल्याएको छ। पुस १६ गतेदेखि वडा अधिवेशन हुँदै छ। त्यसअघि नै क्रियाशील सदस्यता टुंगो लगाएर निर्वाचन समितिलाई बुझाइसक्नुपर्ने छ।