काँग्रेसले भन्यो : ‘मापदण्ड विपरीत उम्मेदवार सिफारिस नगर्नु’

काँग्रेसले भन्यो : ‘मापदण्ड विपरीत उम्मेदवार सिफारिस नगर्नु’


काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि अघिल्लो परिपत्रअनुसार उम्मेदवार सिफारिस गर्न मातहतलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले मापदण्ड विपरीत उम्मेदवार सिफारिस गर्न लागेपछि काँग्रेसले बिहीबार तोकिएको मापदण्ड र तोकिएको सङ्ख्यामा उम्मेदवारको सिफारिस गर्न निर्देशन दिएको हो ।

‘तोकिएको मापदण्ड र तोकिएको सङ्ख्यामा उम्मेदवारको सिफारिस गर्नका लागि निर्देश भएको सन्दर्भमा तोकिएको मापदण्ड र तोकिएको सङ्ख्यामा पार्टीको परिपत्र र नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम उम्मेदवारको सिफारिस गर्नुहुन पुनः गम्भीर ध्यानाकर्षण गराइन्छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी परिपत्रमा भनिएको छ ।

काँग्रेसले यसअघि १५ मंसिर र १७ मंसिरमा परिपत्र गरेर प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ तथा राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिसको मापदण्ड तोकेको थियो ।

अघिल्लो परिपत्रमा पार्टी विधानको धारा ३०, धारा ३३ (२) तथा धारा ६९ बमोजिमको योग्यता पुगेको व्यक्तिमध्येबाट प्रत्यक्षतर्फका लागि बढीमा एक महिलासहित तीन जना र समानुपातिकतर्फका लागि समावेशी सिद्धान्तलाई ध्यानमा राखेर कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरेर सिफारिस गर्न भनिएको थियो ।

यस्तै राष्ट्रिय सभा सदस्यको लागि मातहतका जिल्लाबाट योग्यता पुगेका सम्भावित नामको सूची माग गरी प्राप्त नाम मध्येबाट एक सिटका लागि तीन जनाको नाम सहमति हुन सकेमा सहमतिअनुसार र सहमति हुन नसकेमा बहुमतबाट निर्णय गरी केन्द्रमा पठाउनेछ’ उल्लेख गरिएको थियो ।

तर, काँग्रेसका क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिहरू केन्द्रले निर्धारण गरेको मापदण्ड विपरीत उम्मेदवारहरू सिफारिस गरिरहेका छन् ।