कार्यकर्ता भेट्न च्यासल पुगे ईश्वर पोखरेल

कार्यकर्ता भेट्न च्यासल पुगे ईश्वर पोखरेल


काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पार्टी मुख्यालय च्यासल पुगेका छन् । विभिन्न जिल्लाबाट महाधिवेशनमा सहभागी हुनका लागि काठमाडौँ आइपुगेका प्रतिनिधिहरू पनि च्यासल पुगेका छन् ।

देशभरिबाट जनप्रतिनिधिहरू आउने क्रम सुरु भएसँग नेता पोखरेल पनि च्यासल पुगेर आफ्नो पक्षमा माहोल बनाउन लागि परेका छन् ।

बुधबार सम्पादकहरूसँगको अन्तरक्रियामा पोखरेलले आफूले कुनै झोँकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा नगरेको बताएका थिए ।

२७ मंसिरदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै छ । च्यासलमा भेला भएका नेताहरूले आ-आफ्नो पक्षमा माहोल बनाइरहेका छन् ।

सोमबार पार्टी मुख्यालय च्यासलमा पोखरेल समूहले आफ्नो तर्फबाट अवधारणा पत्र समेत बुझाएको थियो । महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमा आफ्नो समूहको मुद्दाहरू समेटिनुपर्ने माग सो समूहको छ ।