विराटनगर । नेपाली कांग्रेसको राजनीतिक इतिहासको जीवन्त साक्षी मानिने विराटनगरको ऐतिहासिक कोइराला निवास फेरि ब्यूँझिँदैछ । गत भदौ २४ गते जेनजी आन्दोलनका नाममा अराजक समूहले लगाएको आगोले पूरै खरानी बनाएको यो धरोहरको पक्की भाग मर्मत सम्पन्न भएको छ भने अब कृष्णप्रसाद कोइरालाले बनाएको पुरानो काठ–टिनको संरचनालाई पनि पुरानै शैलीमा पुनर्निर्माण गरिने भएको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मर्मत गरिएको पक्की खण्डमा रङ्गरोगन गरेर बसाईँ सारेका छन् । “यो घर हाम्रो राजनीतिक चेतनाको स्रोत हो । यसलाई जोगाउनु हाम्रो दायित्व हो,” डा। कोइरालाले भने । २००७ को राणाविरोधी क्रान्ति, २०४६ र २०६२–६३ को जनआन्दोलनमा यो निवासले महत्वपूर्ण भूमिका खेलेको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले सर्वस्वहरण गरेपछि कृष्णप्रसाद कोइराला यही घर छाडेर निर्वासित भएका थिए । कांग्रेस कार्यकर्ताले तीर्थस्थलझैँ मान्ने यो घर १२० वर्ष भन्दा पुरानो रहेको बताइन्छ ।
नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंका अनुसार पुरानो संरचनालाई जस्ताको तस्तै बनाउन इन्जिनियरले नक्सांकन गरिसकेका छन् । “अब चाँडै पुरानै आकृतिमा पुनर्निर्माणको काम सुरु हुन्छ,” उनले भने । २०१४ सालमा केशव कोइरालाले दुई कोठा थपेका थिए । २०३४ मा बीपी कोइराला मेलमिलाप नीतिका साथ फर्किएपछि पक्की संरचना बनाइएको थियो भने २०५२ तिर गिरिजाप्रसाद कोइरालाले आफ्ना लागि थप कोठा बनाएका थिए । तर कृष्णप्रसादले बनाएको मूल घरको स्वरूप भने कहिल्यै बिगारिएको थिएन ।
आगलागीले मूल काठ–टिनको भाग पूरै नष्ट भएको थियो । पक्की भागको बाहिरी संरचना भने बचेको थियो । कोइराला परिवारको अंशबण्डापछि यो घर डा। शेखरको भागमा परेको हो । बीपीपुत्र डा। शशांक कोइरालासहितका सन्तानले आफ्नो भागको जग्गा बेचिसकेका छन् भने सुजाता कोइरालाले पनि अधिकांश जग्गा बिक्री गरेकी छिन् ।
“यो घर केवल इँटा–सिमेन्टको संरचना होइन, यो नेपाली लोकतन्त्रको संघर्षको स्मृति हो,” कांग्रेस नेता चापागाईंले भने, “डा शेखर कोइरालाले यसलाई बचाउने काम गरेर ठूलो गुन लगाउनुभएको छ ।” आगामी दिनमा यो निवासलाई कांग्रेसको राजनीतिक सङ्ग्रहालयका रूपमा पनि विकास गरिने योजना रहेको बताइएको छ ।

प्रतिक्रिया