सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत

सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत


अत्तरिया। सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीले दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास कार्यक्रम गरेको छ । नेपाली सेना र नेपाल प्रहरीको सहकार्यमा आज धनगढीमा सडक दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास कार्यक्रम गरिएको हो ।

उद्धार अभ्यासमा दुर्घटनापछि जनधनको क्षति न्यूनीकरणका लागि गरिने नमुना उद्धार अभ्यास प्रस्तुत गरिएको थियो । त्यस्तै सडक दुर्घटनामा प्रहरीसहित सबै सुरक्षा निकायको भूमिका, घाइतेको उद्धार, ट्राफिक व्यवस्थापनलगायतको नमुना अभ्याससमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले सडक दुर्घटना दिनानुदिन चुनौतीको विषय बन्दै गएको उल्लेख गर्दै यस्ता नमुना अभ्यास कार्यक्रम महत्वपूर्ण र समसामयिक हुने बताए ।

उनले भने, “यस्ता कार्यक्रमको अझै व्यापक रुपमा प्रचारप्रसार गर्नुपर्छ, सडक दुर्घटना भइसकेपछि होसियारी अपनाउनुपर्ने कुरा तथा सबै सुरक्षा निकायको भूमिका स्पष्ट हुनुपर्ने हुन्छ, जुन यहाँ देखिएको छ ।” यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले यस्ता कार्यक्रमले सडक दुर्घटनापछि उद्धारलाई अझ चुस्त र प्रभावकारी बनाउन सहज हुने बताए । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रराज रञ्जितले सडक दुर्घटनामा सशस्त्र प्रहरी पनि खटिँदै आएको उल्लेख गर्दै त्यसलाई मध्यनजर गरेर कृत्रिम उद्धार अभ्यास गरिएको बताए ।

उनले भने, “प्राविधिक तथा मानवीय त्रुटिले दुर्घटना भइरहेका हुन्छन्, दुर्घटनापछि कसरी क्षति कम गर्न सकिन्छ भनेर पूर्वअभ्यास गरेका हौँ ।”