कतार पठाउन लागेका दुई हात्तीको बिदाइ

कतार पठाउन लागेका दुई हात्तीको बिदाइ


काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई चितवनवासीले बिदाइ गरेका छन् । आज सौराहामा बिदाइ कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटासहित संरक्षणकर्मीहरुले माला, अबिर लगाएर फलफूल खुवाएर हात्तीको बिदाइ गरेका हुन् । हात्तीलाई आज साँझ भैरहवाका लागि पठाइने छ भने पुस २ गते गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट कार्गो विमानमार्फत कतार पठाइने छ ।

विदेश पठाउन लागिएका हात्तीमा सात वर्षको रुद्र कली र छ वर्षको खगेन्द्रप्रसाद रहेका छन् । हात्तीसँगै माउतेहरू रुद्र कलिका बुद्धिलाल श्रेष्ठ र खगेन्द्रका पचुखाँ चौधरी एवं पशु स्वास्थ्य प्राविधिक दिनेश ढकालसमेत कतार जाने कार्यक्रम रहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. पन्तका अनुसार दुवै जनाले कतारमा हात्तीको स्याहारसुसारका विषयमा त्यहाँका माउतेलाई तालिम दिएर फर्कने छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को विसं २०८१ कात्तिक २ गतेको निर्णयअनुसार हात्तीलाई कतार पठाउन लागिएको हो । कतारमा नेपालको वातावरण अनुकूलित हुने गरी प्राविधिकहरू गएर अध्ययन गरेपछि हात्ती पठाउन लागिएको उनले जानकारी दिए ।

यी दुई हात्ती जन्मिएदेखि स्याहारसुसार गर्दै आएका हात्ती प्रजनन केन्द्र खोरसोरका प्रमुख मनिपुरण चौधरी अहिले हात्ती विदेश पठाउन भनेपछि नरमाइलो महसुस भएको बताए । उनले भने, “सुत्केरी हुँदादेखि स्याहारसुसार गरेर, तालिम गराएर निकुञ्ज पोष्टमा पठाइएको हो । माया लाग्छ । विदेश पठाउँदा नरमाइलो महसुस भइरहेको छ”, उनले भने, “माथिको आदेशअनुसार पठाउनुपर्‍यो । जे होस् राम्रो होस् भन्ने आफ्नो चाहना रहेको छ ।”

रुद्र कलिका माउते बुद्धिलाल श्रेष्ठले पनि विगत चार वर्षदेखि स्याहार हात्ती अर्को देश पठाउन लाग्दा दुःख लागेको बताए ।

यहाँबाट बिदाइ गरिएका हात्तीलाई ट्रकमा राखेर भैरहवा विमानस्थल पुर्‍याइने छ । भैरहवामा एक कार्यक्रमको आयोजना गरी कतार दूतावासलाई हस्तान्तरण गरिने जनाइएको छ । कतारको दोहास्थित अलखोर पार्ककको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हात्ती प्रजनन केन्द्रका प्रमुख चौधरीले जानकारी दिए ।

यसअघि नेपालले विभिन्न मित्र राष्ट्रलाई एक सिंगे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्त्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ । पन्तका अनुसार पहिलो पटक नेपालले हात्ती उपहारस्वरूप अन्य देशमा पठाउन लागेको हो ।

विसं २०४४ मा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले हालसम्म ६८ हात्तीलाई जन्म दिइसकेको छ । यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ । यहाँ जन्मिएकामध्ये छ वटाको मृत्यु भएको छ ।

नेपालमा हाल सरकारी तवरबाट पालिएका १०५ वटा हात्ती रहेका छन्, जसमध्ये चितवनमा ५८ वटा रहेका निकुञ्ज प्रशासनले जनाएको छ । यस्तै, नेपालमा निजी क्षेत्रबाट पालिएका ७३ वटा हात्ती छन् भने जंगली हात्ती ४०० भन्दा बढी भएको अनुमान गरिएको छ ।

यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्यांक छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ मा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो ।

सोही आधारमा कतार सरकारको कूटनीतिक निकायबाट माग भएअनुसार प्रक्रिया अघि बढाएर हात्ती पठाउन लागिएको हो ।