विराटनगर । कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवा उपलब्ध भए पनि यसको उपयोग अपेक्षाअनुसार वृद्धि हुन सकेको छैन । पछिल्ला तीन आर्थिक वर्षका तथ्यांकले नि:शुल्क सुरक्षित गर्भपतन सेवाबारे पर्याप्त जानकारी नहुँदा सेवाग्राहीको सङ्ख्या कम रहेको देखाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ को अवधिमा प्रदेशभर ४८ हजार ८२२ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । १४ जिल्ला रहेको कोशी प्रदेशका लागि यो सङ्ख्या अझै कम भएको अधिकारकर्मीहरूको भनाइ छ । तर उनीहरूका अनुसार यो तथ्यांक महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारप्रतिको सचेतना बढ्दै गएको र स्वास्थ्य प्रणालीप्रति विश्वास बलियो बन्दै गएको संकेत पनि हो ।
सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिइए पनि सामाजिक डर, लाज र जानकारीको अभावका कारण महिलाहरू अझै पनि जोखिमपूर्ण तथा अवैध गर्भपतनतर्फ जाने क्रम पूर्णरूपमा रोकिएको छैन । यद्यपि पछिल्ला वर्षमा सरकारी स्वास्थ्य संस्थामा सेवा विस्तार, स्वास्थ्यकर्मीको तालिम, नि:शुल्क औषधि उपलब्धता र गोपनीयता सुनिश्चित गर्ने प्रयासले महिलालाई स्वास्थ्य संस्थातर्फ आकर्षित गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । यसले मातृ मृत्युदर घटाउन समेत सहयोग पुगेको उनीहरूको बुझाइ छ ।
२० वर्षमाथिका महिलामा सेवा उपयोग बढी
तीन वर्षको अवधिमा सुरक्षित गर्भपतन सेवा लिनेहरूमध्ये २० वर्षमाथिका महिलाको सङ्ख्या अत्यधिक छ । तथ्याङ्कअनुसार ४५ हजार ५६५ महिला २० वर्षमाथिका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार विवाहपछि परिवार पूरा भइसकेका, आर्थिक अवस्था कमजोर भएका वा स्वास्थ्य कारणले गर्भधारण निरन्तरता दिन नसक्ने महिलाले सुरक्षित गर्भपतन सेवा रोज्ने गरेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी नर्सिङ प्रशासक आस्था थापा भन्छिन्, “पहिले धेरै महिलाले डरका कारण असुरक्षित उपाय अपनाउँथे । अहिले स्वास्थ्य संस्थामा आएर कानुनी र सुरक्षित सेवा लिन थालेका छन् ।” उनका अनुसार स्थानीय तहसम्म सेवा विस्तार र गोपनीयता कायम गर्ने अभ्यासले महिलाको भरोसा बढाएको छ ।
किशोरीमा पनि सुरक्षित सेवातर्फ आकर्षण
तीन वर्षको अवधिमा तीन हजार २५७ किशोरी तथा युवा महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । स्वास्थ्यकर्मीहरूका अनुसार किशोरी गर्भधारणको कुल सङ्ख्या केही घट्दो देखिए पनि गर्भपतन गर्नुपर्ने अवस्थामा उनीहरू असुरक्षित विधिभन्दा सुरक्षित प्रक्रियातर्फ आकर्षित हुँदै गएका छन् ।
कोशी अस्पतालकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.अन्जु देव यो परिवर्तन सकारात्मक भए पनि पर्याप्त नभएको बताउछिन् । उनी भन्छिन्, “यौन शिक्षा, गर्भ निरोधक साधनको सही जानकारी र मानसिक परामर्शबिना किशोरी गर्भपतन दीर्घकालीन रूपमा घट्दैन ।”
समान पहुँच अझै चुनौती
जिल्लागत तथ्याङ्कले सुरक्षित गर्भपतन सेवामा ठूलो असमानता देखाएको छ । सुनसरी, झापा र मोरङ जिल्लाले प्रदेशको कुल सेवा उपयोगकर्तामध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन् । सुनसरीमा मात्र पछिल्ला तीन वर्षमा वार्षिक करिब चार हजार महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
तर ओखलढुङ्गा, खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभाजस्ता दुर्गम पहाडी जिल्लामा सेवा पहुँच निकै सीमित छ । ओखलढुङ्गामा आव २०७९/८० मा ४६, २०८०/८१ मा ७९ र २०८१/८२ मा ११२ महिलाले मात्र सेवा लिएको तथ्याङ्क छ ।
मोरङ सहकारी अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.बालकृष्ण साहका अनुसार भौगोलिक कठिनाइ, आर्थिक अवस्था र सामाजिक सोच नै मुख्य चुनौती हुन् । “गर्भपतनलाई अझै पनि लाज र अपराधसँग जोडेर हेर्ने प्रवृत्ति छ,” उनी भन्छन्, “स्वास्थ्य संस्था टाढा हुँदा महिलाहरू अन्तिम अवस्थामा मात्र अस्पताल आउँछन्, जसले जोखिम बढाउँछ ।”
रोकथाममुखी नीतिको आवश्यकता
तीन वर्षको तथ्यांकले कोशी प्रदेशमा सुरक्षित गर्भपतन सेवा महिलाको स्वास्थ्य सुरक्षाको महत्त्वपूर्ण आधार बन्दै गएको देखाउँछ । तर विज्ञहरूका अनुसार सेवा उपलब्ध हुनुमात्र पर्याप्त छैन । यौन तथा प्रजनन स्वास्थ्य शिक्षा, गर्भ निरोधक साधनको सहज पहुँच, मानसिक सहयोग र सामाजिक सोचमा परिवर्तन अपरिहार्य छ ।
‘सुरक्षित जीवनका लागि, सुरक्षित गर्भपतन सेवा’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्भपतन सेवा लिन आग्रह गर्दै आएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार हाल देशभर दुई हजार ८२७ सूचीकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा नि:शुल्क उपलब्ध छ ।
नेपालमा हुने करिब ५२ प्रतिशत गर्भपतन अझै पनि असुरक्षित रहेको परिवार कल्याण महाशाखाको अध्ययनले देखाएको छ । यसलाई घटाउन अनधिकृत क्लिनिकको अनुगमन, समुदायस्तरको चेतना र लक्षित कार्यक्रम आवश्यक रहेको विज्ञहरूको जोड छ ।
सुनौलो परिवार नेपालका प्रबन्धक कुमार आचार्यका अनुसार संस्थाले स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा तालिम, अनुगमन र ११४३ हटलाइन सेवा सञ्चालन गर्दै आएको छ । साथै, देशका १८ जिल्लामा सञ्चालित २२ ‘मेरी स्टोप्स सेन्टर’मार्फत सुरक्षित गर्भपतन, परिवार नियोजन तथा समग्र प्रजनन स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको उनले जानकारी दिए ।

प्रतिक्रिया