देउवासंग क्रियाशील सदस्यता वितरण र अनुशासन कारबाहीका विषयमा कोइरालाको तीव्र असन्तुष्टि

देउवासंग क्रियाशील सदस्यता वितरण र अनुशासन कारबाहीका विषयमा कोइरालाको तीव्र असन्तुष्टि

बिना नम्बर फारम फिर्ता ल्याउन र कारबाही तत्काल फुकुवा गर्न माग


काठमाडौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र सभापति शेरबहादुर देउवाबीच भएको भेटमा क्रियाशील सदस्यता वितरण र अनुशासन कारबाहीका विषयमा तीव्र असन्तुष्टि व्यक्त भएको छ। क्रियाशील सदस्यता व्यवस्थापन समितिले क्रम संख्या (सिरियल नम्बर)  नै नराखी फारम जिल्ला–जिल्लामा पठाएको घटनाप्रति कोइरालाले कडा आक्रोश पोखेका छन्। यसले पार्टीभित्र देशैभर जटिल समस्या उत्पन्न गरेको भन्दै उनले यस्ता फारम तत्काल फिर्ता मगाएर नयाँ नम्बर सहितका फारम पठाउन सभापति देउवालाई निर्देशन दिन आग्रह गरेका छन्।
कोइरालाले बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया नै अगाडि बढ्न नसक्ने तर्क राखेका छन्। यस विषयमा छलफल गर्न उनी केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाललाई साथमा लिएर सभापति देउवालाई भेट्न पुगेका थिए।
यसैगरी, केन्द्रीय अनुशासन समितिले गरेको कारबाही सिफारिस फुकुवा नगरेकोप्रति पनि कोइरालाले असन्तुष्टि व्यक्त गरे। २०७९ को निर्वाचनमा गठबन्धनका समयमा भएका विषयलाई लिएर अहिले कारबाही गर्न नहुने भन्दै उनले सबैको कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखेका छन्।
पार्टीको आगामी १५औँ महाधिवेशन नजिकिँदै गर्दा क्रियाशील सदस्यता वितरणमा देखिएको यो विवादले कांग्रेसभित्र थप तनाव बढाएको छ। यसअघि पनि सिरियल नम्बर नभएका फारम पठाइएको घटनाले समितिभित्रै विवाद उत्पन्न भएको थियो।