काठमाडौँ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ । मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिएका हुन्
विगतका निर्वाचनहरूमा दलहरूले अनावश्यक व्यक्ति ओसारपसार गर्ने आशंकाका कारण सवारी आवागमनमा रोक लगाउने गरिए पनि यो पटक यातायात बन्द नगरीकनै निर्वाचनको तयारीमा आयोग जुटेको पनि बताए ।
‘हामी सकेसम्म यो पटक निर्वाचनको दिन पनि सवारी आवागमनमा रोक नलगाउने पक्षमा छौँ । गामीमा नचाहिने मान्छेहरू ओसारपसार गर्छन् भनेर हामीले विगतमा सवारी आवागमनमा रोक लगाउने निर्णय गर्ने गरेका थियौँ,’ उनले भने ।
विश्वका कतिपय मुलुकहरूमा यातायात बन्द गरेर निर्वाचन नहुने अभ्यास रहेको भन्दै नेपालमा पनि सोहीअनुसार अघि बढ्ने तयारी भइरहेको उनको तर्क छ ।
स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारहरूले मतदातालाई मतदान स्थलसम्म पुर्याउने व्यवस्था गर्न सक्ने भए पनि आयोग आफैँले बस सञ्चालन गरेर अपांगता भएका लगायतका व्यक्तिलाई सेवा दिन सक्ने अवस्था भने नरहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया