मोरङ– नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताउँदै सरकारको तयारीप्रति कडा आक्रोश व्यक्त गरेका छन्। उनले प्रजातन्त्रको जग नै निर्वाचन भएको भन्दै कांग्रेस निर्वाचनमा जान आतुर रहेको तर सरकारको गतिविधिले निर्वाचन नै नहुने आशंका बढाएको आरोप लगाए।
सुन्दरहरैंचा नगरपालिका–४ मा स्थानीय नेता–कार्यकर्तासँगको भेटघाटमा बोल्दै कोइरालाले भने, “संविधान बचाउने र मुलुकलाई संक्रमणबाट जोगाउने काम निर्वाचनले मात्र गर्छ। हामी त निर्वाचनको मिति कुरेर बसेका छौं, तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा नै आशंका जन्मिएको छ।”
सरकारले निर्वाचनको वातावरण नै बनाउन नसकेको उनको कडा भनाइ थियो। कोइरालाले प्रश्न गर्दै भने, “दलका केही नेतालाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार अझै बाहिर छन्, कैदीहरू सडकमा हिँडिरहेका छन्। यसबारे सरकारले के सोचेको छ? सुरक्षा स्थिति यस्तो छ भने कसरी निर्वाचन हुन्छ?”
उनले पार्टी पंक्तिलाई निर्वाचनका लागि तत्काल जुट्न निर्देशन दिँदै कांग्रेसलाई एकताबद्ध र बलियो बनाएर निर्वाचनमा होमिन आह्वान गरे। मोरङ–६ बाट एकल सिफारिस भइसकेका कोइरालाले निर्वाचन तोकिएकै मितिमा हुनुपर्नेमा जोड दिए।
यसअघि नै निर्वाचन आयोगले फागुन २१ को कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा सरकारको सुस्त गतिले राजनीतिक वृत्तमा तरंग ल्याएको छ। कांग्रेसले निर्वाचनमा सक्रिय तयारी थालिसकेको दाबी गर्दै आए पनि सुरक्षा र वातावरणको अभावले चुनौती थपिएको नेताहरू बताउँछन्।

प्रतिक्रिया