कांग्रेस नेता डा कोइरालाको कडा प्रश्न: ओलीलाई उपत्यका बाहिर नजान दिने सरकारले कस्तो चुनाव गराउँदैछ ?

कांग्रेस नेता डा कोइरालाको कडा प्रश्न: ओलीलाई उपत्यका बाहिर नजान दिने सरकारले कस्तो चुनाव गराउँदैछ ?


 

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौं उपत्यका बाहिर जान नदिने निर्णयलाई लिएर गम्भीर प्रश्न उठाएका छन् । उनले यस्तो अवस्थामा सरकारले कस्तो चुनाव गराउन खोजेको हो भन्दै आश्चर्य र आक्रोश व्यक्त गरेका छन् ।
शनिबार मोरङको विराटनगर महानगरपालिका–६ मा नेपाली कांग्रेसको कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘देशको पूर्वप्रधानमन्त्री भइसकेको व्यक्ति, पार्टीको प्रमुख व्यक्तिलाई उपत्यका बाहिर जान नपाइने भनेको छ । अनि सरकार अर्कोतिर के भन्दै छ भने म चुनाव गराउँछु । यो कस्तो चुनाव गर्न खोज्दैछ ?’
उनले आगामी प्रतिनिधिसभा निर्वाचन विगतका निर्वाचनहरूजस्तै स्वतन्त्र, निष्पक्ष र सबै दल सहभागी हुने गरी हुनुपर्नेमा जोड दिए । ‘पहिले जसरी चुनाव हुन्थ्यो, त्यसरी चुनाव होस् र सबै राजनीतिक दलहरूले भाग लिउन् भन्ने हाम्रो चाहना हो,’ कोइरालाले भने । नेपाली कांग्रेसले चुनावमा भाग लिने निर्णय पहिले नै गरिसकेको बताउँदै उनले भने, ‘हामीहरू चुनावमा जान्छौं भनेर निर्णय नै गरेको छौं ।’ तर, चुनावी वातावरण बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्नेमा पनि उनले जोड दिए ।

‘जुन सरकारले गर्नुपर्ने, सरकारले दिनुपर्ने हो, त्यो दिनुपर्‍यो चुनावमा जानको लागि,’ उनले भने । उनले फरार कैदी, सार्प शुटरहरू, लुटिएका हतियारहरूको विषयमा सरकारको ध्यान नपुगेको आरोप लगाए । ‘पाँच हजारभन्दा बढी कैदीहरू आजको दिन पनि फरार छन् । सार्प सुटरहरू फरार छन्, तिनीहरूलाई फेरि समातेर जेलमा हाल्नुपर्‍यो । सँगसागै पाँच–सात सय हतियारहरू लुटिएका छन्, पुलिसका ती हतियार पनि लिनुपर्‍यो । सरकार त्यतातिर ध्यान दिइराखेको छैन,’ कोइरालाले भने ।