‘देश बन्नु ठूलो कुरा हो, जस्तोसुकै त्याग गर्न तयार छु: रवि लामिछाने

‘देश बन्नु ठूलो कुरा हो, जस्तोसुकै त्याग गर्न तयार छु: रवि लामिछाने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले देश निर्माणको लागि आफूले जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । जेलबाट रिहा भएपछि पहिलो पटक सार्वजनिक रूपमा बोल्दै उनले व्यक्तिगत महत्वाकांक्षा भन्दा देशको हित ठूलो भएको जोड दिए ।

शनिबार चितवनको चौबिसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘मलाई केही पनि चाहिएको छैन । मेरो पार्टी बनाउनुस्, पार्टीले जे निर्णय गर्छ त्यही । चुनाव चिन्ह चाहिन्छ, लैजानुस् । झण्डा चाहिन्छ, लैजानुस् ।

पार्टी अफिस चाहिन्छ, लैजानुस् । सिंगो पार्टी, सभापति–उपसभापति चाहिन्छ, लैजानुस् । देश बन्नुपर्‍यो, व्यक्तिको कुनै ठूलो कुरो होइन ।’ जेलमै रहँदा पनि आफूले यस्तै कुरा गरेको स्मरण गर्दै उनले भने, ‘म कारागारमा छु, मैले जे त्याग गर्न पनि तयार छु ।’ उनले मिल्नुपर्ने राजनीतिक शक्तिहरूसँग अन्तिम समयमा मिलेर अघि बढ्ने बताए । ‘मिल्नुपर्नेहरू जो जो हो, अन्तिममा हामी मिलेरै छाड्छौं,’ उनले भने, ‘मेरो एउटा मात्रै प्रश्न छ, यो मिल्ने भन्ने कुरा टाउको ठोकेर मित लगाएजस्तो होइन ।’

लामिछानेले आफू एक चुनावका लागि मात्रै राजनीतिमा नआएको स्पष्ट पारे । ‘म एउटा चुनावका लागि राजनीतिमा आएको होइन । म एउटा पुस्ताका लागि राजनीतिमा आएको हो,’ उनले भने । उनले आगामी निर्वाचन समयमै र निष्पक्ष रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै सरकारलाई निर्भीक भएर अघि बढ्न आग्रह गरे । ‘२४ गते जनआन्दोलन भएको हो ।

हामी यहीँबाट स्पष्ट गरेर जान्छौं । निर्वाचनमा देश जानुपर्छ । निर्वाचनका लागि जेनजीको रगतबाट चुनिएको यो सरकारले जेनजीको सपना पूरा गर्ने आँट राखोस्,’ उनले भने ।