काठमाडौं। नेपाली काग्रेसको यही पुस २६देखि २८ गतेसम्म हुने भनिएको १५औं महाधिवेशन क्रियाशिल सदस्यताको बिबादका कारण पर सर्ने भएको छ।
पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको महामन्त्रीसहितको अनौपारिक छलफलले यस्तो सङ्केत दिएको हो।
काबा सभापति खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखकबीच आइतबार बिहान भएको छलफलमा क्रियाशिल सदस्यता बिबाद टुंगोमा लाग्न नसकेका कारण पुसमै महाधिवेशन हुन नसक्ने भएको हो।
बैठकमा महाधिवेशन सम्पन्न गर्नका लागि आधारभूत रुपमा रहेको क्रियाशिल सदस्यता नविकरण र नयाँ सदस्यता वितरण सम्पन्न भइनसकेको, सदस्यता बिबाद टुंगोमा नपुगेको, अन्तिम नामावली तयार नभएको भन्दै नेता लेखकले यस्तो गतिले तीन सातामा महाधिवेशन गर्न नसकिने तर्क प्रस्तुत गरेका थिए।
क्रियाशिल सदस्यको अन्तिम नामावली तयार नभएसम्म महाधिवेशनको परिकल्पना नै गर्न नसकिने भन्दै लेखकले दलिल प्रस्तुत गरेपछि महामन्त्रीद्वय थापा र शर्मा नाजवाफ भएका थिए।
क्रियाशिल सदस्यको अन्तिम नामावली तयार नभएको, बिधान मस्यौदा समिति अझै नबनेको, दस्तावेज तयारी समिति, प्रचार समिति आदि गठन अझै हुन नसक्दा निर्धारित समयमा महाधिवेशन सम्भव नभएको प्रसंग उठेको थियो।
‘महाधिवेशनको सबैभन्दा महत्वपूर्ण र जटिल विषय भनेकै क्रियाशिल सदस्यहरुको नामावलीलाई अन्तिम रुप दिनु हो, यहाँ त सदस्यता विवादको निराकरण नै हुन सकेको छैन’, निवर्तमान गृहमन्त्री समेत रहेका नेता लेखकको भनाई उधृत गर्दै स्रोतले भन्यो।
बैठकमा महाधिवेशनको तयारीका लागि गठन गर्नु पर्ने समितिहरु अझैसम्म निर्माण हुन सकेका छैनन् भने क्रियाशिल सदस्यता नविकरणका लागि पठाइएका करिव चार लाख सदस्यता फर्मको सिरियल नम्वर नैं नहुँदा पुनः वितरण गरिएको छ।
मौसम र भौगोलिक जटिलताका कारण समेत पुसको अन्तिम साता कांग्रेसको महाधिवेशन गर्न यसै चुनौति भईरहेको बेला सदस्यता व्यवस्थापनको जिम्मेवारी लिएका महामन्त्रीहरुले आफ्नो जिम्मेवारी पुरा नगदा उनीहरुकै माग बमोजिम पुस मसान्तमै गर्ने भनिएको कांग्रेसको महाधिवेशन नहुने भएको छ।
निर्धारित समयमै महाधिवेशन गर्नको लागि सुझाव, सल्लाह र निर्देशन उद्देश्यले शनिबार सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति खड्कासहित उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका थिए।
कार्यवाहक सभापति र महामन्त्रीहरुले महाधिवेशनको लागि पर्याप्त तयारी र व्यवस्थापन नगरेको भन्दै सभापति देउवाले गुनासो गरेका थिए।
उनैको सल्लाह र सुझावमा काबा सभापति खड्काले आइतबार बिहान देउवाको तर्फबाट उपस्थित भएका लेखक र पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई राखेर महामन्त्रीद्वयसँग महाधिवेशन तयारीको प्रगतिको वारेमा जानकारी समेत लिएका थिए।
शनिबार देउवाले बोलाएको बैठकमा बरिष्ठ नेता डा.शेखर कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला भने उपत्यकावाहिर भएकाले उपस्थित भएका थिएनन्।

प्रतिक्रिया