काठमाडौं – बंगलादेशको मयमनसिंह जिल्लामा २७ वर्षीय हिन्दू युवक दिपुचन्द्र दासको भीडद्वारा कुटपिट गरी हत्या गरेको घटनामा प्रहरी र र्यापिड एक्सन बटालियन ९आरएबी० ले कम्तिमा १० जनालाई पक्राउ गरेको छ ।
बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा। मुहम्मद युनुसले आफ्नो एक्स (ट्विटर)अकाउन्टमा यो घटनाको पुष्टि गर्दै लेखेका छन्, “मयमनसिंहको भालुका उपजिल्लामा सनातन हिन्दू युवा दिपुचन्द्र दासलाई कुटपिट गरी हत्या गरेको घटनामा कानून प्रवर्तन एजेन्सीहरूले १० जनालाई पक्राउ गरेका छन् ।”
आरएबीले पक्राउ पारेका सात जना संदिग्धहरूमा मोहम्मद लिमन सरकार , मोहम्मद तारेक हुसेन, मोहम्मद मानिक मिया, इर्शाद अली , निजुम उद्दिन , आलोमगीर हुसेन र मोहम्मद मिराज हुसेन अकोन रहेका छन् । त्यसैगरी प्रहरीले मोहम्मद अजमोल हसन सगीर, मोहम्मद शाहिन मिया र मोहम्मद नजमुललाई पक्राउ गरेको छ ।
द स्टेटमेन्ट्सका अनुसार, ईश्वरनिन्दाको आरोपमा भीडले दिपुचन्द्र दासमाथि आक्रमण गरेको थियो । उनीमाथि कुटपिट मात्रै नभई शरीरमा आगो समेत लगाइएको थियो । चोटका कारण उनको उपचारको क्रममा मृत्यु भएको थियो ।यो घटनाले बंगलादेशमा अल्पसंख्यक समुदाय, विशेषगरी हिन्दूहरूका बीच व्यापक आक्रोश र आशंका पैदा गरेको छ । बंगलादेश हिन्दू बौद्ध क्रिश्चियन एकता परिषद्ले घटनाको कडा निन्दा गर्दै तत्काल न्यायको माग गरेको छ ।
यो घटना विद्यार्थी नेता शरीफ उस्मान हादीको मृत्युपछि बढेको तनावको अवधिमा भएको हो । हादीको १२ डिसेम्बरमा ढाकामा भएको आक्रमणमा गोली लागेर घाइते भएपछि उपचारको क्रममा १८ डिसेम्बरमा सिंगापुरमा मृत्यु भएको थियो । उनको अन्त्येष्टि हिजो मात्रै सम्पन्न भएको थियो ।यस घटनाले बंगलादेशमा अल्पसंख्यक समुदायको सुरक्षा र धार्मिक सहिष्णुताको विषयलाई फेरि एकपटक बहसमा ल्याएको छ । प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया