र्‍यापमार्फत जेन्जी पुस्तासँग जोडिए रमेश प्रसाईं(भिडियो )

र्‍यापमार्फत जेन्जी पुस्तासँग जोडिए रमेश प्रसाईं(भिडियो )


काठमाडौ । चर्चित पब्लिक स्पिकर, टेलिभिजन प्रस्तोता तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाईंले आफ्नो पहिलो र्‍याप गीत ‘जेन्जी’ सार्वजनिक गरेका छन् । द प्रिमियर प्रोडक्सन युट्युब च्यानलमार्फत रिलिज भएको यो गीत उनले आफ्नै शब्दमा रचना गरी गाएका हुन् ।
दृष्टिविहीन प्रसाईंले यो र्‍याप मात्र आधा घण्टामा मस्तिष्कमा लेखेर तयार पारेका थिए । उनले एक टेकमै यो गीत रेकर्ड गरेका छन् । ‘मैले कुनै पनि सिर्जना कागजमा उतार्नु परेको छैन, सबै दिमागमै कण्ठ हुन्छ,’ प्रसाईंले भने । यसअघि इन्द्रेणी टेलिभिजनमा गाएको दोहोरी र ‘रिङ्केबुङ्गको रांगा’ जस्ता लोकप्रिय गीत गाउने प्रसाईंले र्‍यापलाई दोहोरीकै एक प्रकार ठानेका छन् । ‘दुवैमा राइमिङ र अनुप्रास मिलाउनुपर्छ, शैली मात्र फरक हो,’ उनले बताए ।
यो र्‍याप जेन्जी पुस्तासँग जोडिने प्रयास हो । ‘मेरो स्पीच र लेखनले जेन्जीसँग कनेक्ट हुँदैन, र्‍यापले मात्र पुग्छ,’ प्रसाईंले भने । गीतमा उनले जेन्जी आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्न वैकल्पिक र प्रोग्रेसिभ शक्तिहरूलाई एकजुट हुन अपिल गरेका छन् । ‘नेतृत्व र संगठनको अभावमा उपलब्धिहरू खेर जान्छन्, बाघको जुधाइमा स्यालले मासु लगेजस्तो नहोस्,’ उनले चेतावनी दिए ।

प्रसाईंले अहिलेको सरकारलाई ‘केयरटेकर’ मात्र भन्दै जनादेश प्राप्त सरकारबाट मात्र भ्रष्टाचारीलाई कारबाही र सुशासन सम्भव भएको बताए । ‘जेन्जीका माग पूरा हुन जनादेश चाहिन्छ, विभाजन भए हामीले गुमाउँछौं,’ उनले भने ।

उनले र्‍यापर लाउरे र टुकीलाई आफ्नो मनपर्ने बताउँदै गीतमा उनीहरूलाई समेत उल्लेख गरेका छन् । यो र्‍यापले नेपाली राजनीतिमा नयाँ शैलीको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।