बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर राखियो

बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर राखियो


काठमाडौँ। शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहोर पदार्थ संकलन गर्न ट्रास बेरियर जडान गरेको छ ।

हाल गुह्वेश्वरीमा ट्रास बेरियर जडान कार्य सम्पन्न भएको छ । बागमती नदीका गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनहरा दोभान, यूएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा १-१ गरी जम्मा ६ स्थानमा ट्रास बेरियर राख्न लागिएको हो । जसका लागि ६५ लाखमा ठेक्का सम्झौता भई धमाधम काम भइरहेको छ ।

ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायत फोहोर वस्तुहरूलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ ।

काठमाडौँ उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोलाजस्ता नदीहरूमा शहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापनका कारण ठूलो मात्रामा तैरिने फोहोर बग्ने गरेको पाइएकाले यस्ता नदीहरूमा ट्रास बेरियर जडान गर्दा नदीको बहाबलाई अवरुद्ध नगरी फोहोर मात्र निकाल्न सकिन्छ । जसले गर्दा नदी प्रदूषण न्यूनीकरण गर्न सहयोग पुग्दछ ।

ट्रास बेरियरबाट संकलित फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुन:प्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न समेत सकिन्छ । यसले नदी प्रदूषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ ।

नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोर वस्तुलाई नदीको बहाबलाई अवरुद्ध नगरी रोक्ने र पानीको सतह घटबढसँगै ट्रास बेरियरको सतह आफै तलमाथि हुने ढंगले रबरको कन्भेयर बेल्ट र तैरिने भाग सहितको संरचना जडान हुनेछन् ।