काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति सार्न कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरेका छन्।
आइतबार साँझ करिव पाँच बजे राष्ट्रपतिको सरकारी निवास शितलनिवास पुगेका कांग्रेस महामन्त्रीद्वय थापा र शर्माको यस्तो प्रस्ताव सुनेर पहिला त राष्ट्रपति पौडेल नै छक्क परेका थिए।
महामन्त्रीद्वयले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिसभाको फागुन २१ गतेका लागि घोषित निर्वाचनअघि नै गर्ने आफूहरुको अडान भएको तर समय तालिका साँघुरो हुँदा सकसमा परेको भन्दै राष्ट्रपति पौडेलसमक्ष यस्तो प्रस्ताव गरेको स्रोतले जनायो।
भेट गर्न आएका कांग्रेस महामन्त्रीद्वयलाई राष्ट्रपति पौडेलले निर्वाचनको मिति सार्ने कुरा गर्दा संविधान अझै खल्बलिने अवस्था आउने तर्फ सचेत गराएका थिए।
राष्ट्रपति पौडेलको भनाई उधृत गर्दै स्रोतले भन्यो, ‘निर्वाचनको मिति सार्ने कुरा मेरो मात्र तजविजी अधिकारले सम्भव हुँदैन, सर्बदलिय छलफलबाट सहमति गरी निर्णयसहित सिफारिस भएमा बिचार गर्न सक्ने अवस्था आउँछ। कांग्रेसले मात्र भनेर हुँदैन।’
भेटमा पौडेलले संविधानमा संकट निम्त्याउने गरी कुनै पनि कार्य आफूबाट हुन नसक्ने भन्दै ‘निर्वाचन अघि नै महाधिवेशन गर्ने तपाईंहरुको पार्टीको निर्णय कति परिपक्व हो भनेर पहिले नै बिचार गर्नु पर्दथ्यो’ भनी सम्झाउनु परेको थियो।
भेटमा राष्ट्रपति पौडेलले संसद विघटनबिरुद्ध परेको रिट निवेदन अदालतमा विचाराधिन समेत भएकाले न्यायीक निरुपणले समेत अन्योललाई चिर्नसक्ने भन्दै त्यसतर्फ बिचार गर्न भनेका थिए।
राष्ट्रपति पौडेलबाट सर्लक्कै र सजिलै प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति सर्न सक्ने अवस्था नदेखेका महामन्त्रीद्वय नाजवाफ भएर फर्किएका थिए।
करिव एक घण्टा लामो छलफलमा राष्ट्रपति पौडेलले आफू संविधानको संरक्षक र पालक भएकाले संविधानलाई खल्बल्याउने कार्यमा नलाग्ने स्पष्ट पारेका थिए।
आइतबार साँझ राष्ट्रपति पौडेलसँग भेट गरेका महामन्त्री थापाले सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्र काठमाडौं –४ को एक कार्यक्रममा सहभागी हुँदै संसदको निर्वाचन अघि नै पार्टी महाधिवेशन हुने र आफू सभापति बनेरै छाड्ने घोषणा गरेका छन्।
कांग्रेसको १५औं महाधिवेशनको तयारी सम्वन्धमा आइतबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय थापा र शर्मासहित पूर्वगृहमन्त्री रमेश लेखकलाई राखेर गरेको बैठकमा महाधिवेशनको तयारी र कार्यतालिकाबीच मेल नखाएको निष्कर्ष निकालिएको थियो।
त्यसका लागि पार्टीको महाधिवेशनको कार्यतालिका केही समय पछि सार्नु पर्ने बाध्यात्मक अवस्था आईपर्ने भन्दै नेता लेखकले टिप्पणी गरेपछि महामन्त्रीद्वय निकास खोज्न राष्ट्रपतिसँग भेट गर्ने निर्णयमा पुगेका थिए।

प्रतिक्रिया