काठमाडौं। नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाउने महाधिवेशन पक्षधरबीच विभाजनको रेखा कोरिएको छ।
पार्टी महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको माग, आव्हान र सक्रियतामा पार्टीका करिव ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले गत असोज २७ गते पार्टी कार्यालयमा हस्ताक्षर बुझाएका थिए।
विधान बमोजिम नियमित महाधिवेशन ०८२ मंसिर मसान्त भित्रै गर्नु पर्नेमा विशेष महाधिवेशन आवश्यक नरहेको भन्ने पार्टी केन्द्रीय सदस्यहरुको आग्रह र सहमतिमा एक महिनासम्म चलेको केन्द्रीय कार्यसमितिले यही पुस २६–२८ मा नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो।
जेनजी आन्दोलनको जगमा निर्माण भएको सुशील कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा भङ्ग गरी आगामी फागनु २१ गते संसदको निर्वाचन गर्ने घोषणापछि महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको औपचारिक आव्हान गरेका थिए।
महामन्त्रीद्वयको माग बमोजिम प्रतिनिधि सभाको निर्वाचन अघि नै पार्टीको विशेष महाधिवेशन हुनु पर्ने माग गर्दै करिव ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर संकलन अभियानको एक दर्जन नेताहरुले नेतृत्व गरेका थिए।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष गुरुराज घिमिरेसहित देवराज चालिसे, मधु आचार्य, सुवास पोखरेल, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, प्रकाश स्नेही रसाइली लगायतको सक्रियता र दबाबका बाबजुद पार्टी केन्द्रीय समिति पुस २६–२८मा नियमित महाधिवेशन गर्ने निर्णयमा पुगेको थियो।
पार्टी केन्द्रले संसदको निर्वाचन अघि नै नियमित महाधिवेशन गर्ने कार्यतालिका तयार गर्दा पार्टी महामन्त्रीद्वयले विशेष महाधिवेशन पक्षधर नेताहरुसँग सल्लाह, छलफल र सहमति नै नगरेको भन्दै असन्तुष्ट बनेका थिए।
संसदको निर्वाचन अघि पार्टीको महधिवेशन हुनै पर्ने भनेर मंसिरको तीन सातासम्म युवा, विद्यार्थी, महिलासहित विभिन्न पेशागत संघ–संगठनको दबाबमूलक भेला र बैठकमा सक्रियतापूर्वक लागेका नेता घिमिरे र चालिसेहरु महामन्त्रीहरुको एकपक्षिय कार्यतालिका प्रस्तुतिबाट असन्तुष्ट बनेका हुन्।
पार्टीले पुस २६–२८ गते गर्ने भनिएको नियमिति महाधिवेशन कुनै कारणले नहुने स्थिति आएमा विशेष महाधिवेशन हुने विषयमा महामन्त्रीद्वयसँग विशेष महाधिवेशन पक्षधरको सहमति भएको थियो।
तर, आगामी पुसको अन्तिम साता गर्ने भनिएको नियमिति महाधिवेशन गर्न कार्यतालिकाको चापले असम्भव भएको निष्कर्ष आइतबार विहान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आव्हानमा भएको बैठकले निकालेको थियो।
महाधिवेशनको लागि आधारभूत तत्वको रुपमा रहेको क्रियाशिल सदस्यताको अन्तिम नामावली नै तयार नभएको, विधान संशोधन मस्यौदा समितिसहित अन्य दर्जनौं समितिहरु गठन नभएको भन्दै महामन्त्रीद्वयप्रति पार्टी सभापति देउवाले शनिबार नै गुनासो गरेका थिए।
नियमित महाधिवेशनको लागि सबै व्यवस्थापन र तयारी नभएपछि विशेष महाधिवेशन पक्षधरहरुले अब नियमिति महाधिवेशनको ‘च्याप्टर क्लोज’ भएको भन्दै महामन्त्रीद्वयलाई सुझाएका थिए।
तर महामन्त्री थापा विशेष महाधिवेशनको आफ्नो पुरानो अडानबाट पछि हटेका छन् । उनी आफू पार्टीको नेतृत्वमा पूग्न विशेष महाधिवेशनकै अडानमा रहने कि नियमित महाधिवेशनमा अडिने भन्ने दोधारमा परेका छन्।
अर्का महामन्त्री शर्मा भने गत मंसिर २५ गतेतिरका केन्द्रीय कार्य समिति बैठकबाटै नियमित माहाधिवेशनको कित्तामा उत्रिसकेका छन्।
यता विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाउने कांग्रेसका नेताहरु गुरुराज घिमिरे, देबराज चालिसे, सुवास पोखरेल, प्रकाश स्नेही रसाईली लगायतका नेताहरु अब नियमित महाधिवेशन सम्भव छैन भन्दै विशेष महाधिवेशनको तयारीमा लाग्नु पर्ने पक्षमा उभिएका छन्।
विगतमा विशेष महाधिवेशनकै पक्षमा हस्ताक्षर गर्ने नेताहरु मधु आचार्य, अमरसिंह पुन, डिल्लीराज सुवेदी, टेकराज पौडेल, जनकराज गिरी, प्रतिमा गौतम भने नियमिति महाधिवेशनकै पक्षमा उभएिका छन्।
उनीहरुले नियमित महाधिवेशन गर्न कार्यतालिकाको चापले सम्भव नभएकाले कार्यतालिका सारेर भए पनि नियमितमै जानु पर्ने अडानमा छन्। पार्टीलाई कमजोर बनाउने गरी विशेष महाधिवेशनको माग गर्नु उचित नहुने उनीहरुको तर्क छ।
शनिबार देउवासँग भएको छलफल र आइतबार कार्यवाहक सभापति खड्कासँगको छलफलपछि महामन्त्रीद्वय थापा र शर्मा प्रतिनिधि सभाको फागुन २१ गतेको निर्वाचनको कार्यतालिका केही पछि सार्ने प्रस्ताव लिएर राष्ट्रपति रामचन्द्र पौडेलसम्म पुगेका थिए।
तर, राष्ट्रपति पौडेलले कांग्रेस एक्लैको निर्णय र सिफारिसमा त्यो सम्भव नहुने भन्दै सम्झाएर फर्काई दिएपछि निरास भएका महामन्त्रीहरुले नियमिति महाधिवेशनको कार्यतालिका पछि सारेर भए पनि अघि बढ्न विशेष महाधिवेशनको माग गर्ने हस्तारकर्ताहरुसँग छलफल गरेका थिए।
महामन्त्रीहरुले विशेषमा जान नसकिने र नियमितबाट नेतृत्व लिनु पर्ने अवस्था आएको भन्दै निष्कर्ष निकालेपछि विशेषको पक्षमा हस्ताक्षरकर्ता नेताहरु असन्तुष्ट बनेका हुन्।
विशेष महाधिवेशनको पक्षमा हस्तारकर्ताको नेतृत्व गरिरहेका नेता गुरुराज घिमिरे र देवराज चालिसे महामन्त्रीद्वयले आइतबार साँझ गरेको आफ्नो समूहको बैठकमा उपत्यकावाहिर भएकाले उपस्थित हुन सकेका थिएनन्।
महामन्त्री थापा नियमित महाधिवेशनको पक्षमा रहेका कांग्रेसका नेताहरुको प्रभावमा परेको र विशेष महाधिवशेनको पक्षमा हस्तार गरेर अहिले पनि त्यही अडानमा रहेका नेताहरु घिमिरे, चालिसे, पोखरेल र रसाईलीहरुलाई बोलाउन छाडिएको छ।
यसरी नियमित र विशेषको पक्षमा उभिएका नेताबीच सामूहिक छलफल, सल्लाह र कार्यक्रमहरु हुन छाडेका छन्। विशेष र नियमितको फरक फरक कित्तामा उभिएका नेताहरु मनोबैज्ञानिक रुपमा मात्र होइन, अहिले भौतिक रुपमा अलग –अलग ‘मिटिङ’ गर्न थालेका छन्।
यसले जेनजी आन्दोलनपछि पार्टी नीति र नेतृत्व परिवर्तनका लागि विशेष महाधिवेशन भन्दै माग गर्ने नेताहरुबीच अविश्वास र शंका बढ्दै गएको छ भने एकता, सहकार्य र दबाबमूलक अभियानमा कमी आएको छ।

प्रतिक्रिया