काठमाडौँ । एमसीए-नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिब २ करोड ३७ लाख अमेरिकी डलर (३ अर्ब ४३ करोड ६५ लाख रुपैयाँ) बराबरका दुई वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ ।
सोमबार काठमाडौँमा एमसीए-नेपालले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयन क्रममा पूर्व-पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा ‘फुल डेप्थ रिक्लेमेसन तथा सुपरपेभ प्रविधि’ प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि सम्झौता गरेको हो ।
यसैगरी एमसीए-नेपालले हालै उक्त सडक खण्ड स्तरोन्नति कार्य र नारायणघाट-मुग्लिङ सडक खण्ड आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्ट्यान्ट्स एन्ड टेक्नोक्र्याट्स प्रालिसँग सम्झौता गरेको छ ।
आयोजना अन्तर्गत पूर्व(पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्डमा स्तरोन्नति क्रममा सात मिटरको क्यारिज वे र २.५ मिटरको सोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिने एमसीए(नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए ।
सम्झौता अन्तर्गतका क्रियाकलापले व्यापार एवं सवारी सञ्चालन लागत घटाउने र सडक सुरक्षामा अभिवृद्धि गर्ने विश्वास लिएको उनले बताए ।
त्यस्तै नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सरकारका सबै तहमा साझा प्रतिबद्धता प्रतिबिम्बित गर्ने अर्को उपलब्धि भएको बताए ।
अर्थ मन्त्रालयका सहसचिव डा. धनिराम शर्माले नेपालमा पहिलो पटक भित्रिएको नवीनतम प्रविधिबाट नेपालमा दिगो, प्रभावकारी तथा मितव्ययी सडक मर्मतका लागि मार्गप्रशस्त भएको र एमसीए-नेपाल यो आयोजना समयमै सम्पन्न गर्न सक्षम रहेको बताएका छन् ।

प्रतिक्रिया