काठमाडौं । नेपाली कांग्रेसको यही पुस १६ देखि २८ गतेसम्म हुने गरी तोकिएको १५औँ महाधिवेशनको मिति सर्ने उच्च सम्भावना देखिएको छ। तल्ला तहबाट क्रियाशील सदस्यताको फारम केन्द्रमा नपुग्दा महाधिवेशनको सम्पूर्ण कार्यतालिका प्रभावित बनेको हो। क्रियाशील सदस्यता फारम मंसिर २४ गतेभित्रै केन्द्रमा पुगिसक्नुपर्ने समयसीमा तोकिएको थियो। तर, पुस ७ गतेसम्म पनि धेरै फारम केन्द्रमा नआइपुगेकाले तयारी अधुरो रहेको कांग्रेस स्रोतले जनाएको छ। यसअघि पार्टीले पुस १६ गते वडा अधिवेशनदेखि सुरु गरेर २८ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।
सभापति शेरबहादुर देउवाले गत शुक्रबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएर महाधिवेशन तथा निर्वाचन तयारीको ब्रिफिङ लिएका थिए। उनीहरूले केही काम भइरहेको तर प्राविधिक कारणले केही काम हुन नसकेको जानकारी गराएका थिए। त्यसलगत्तै संस्थापन पक्षका नेताहरू कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा छलफलमा जुटेका थिए। उक्त छलफलमा केन्द्रीय सदस्य रमेश लेखकले वर्तमान कार्यतालिकाअनुसार महाधिवेशन असम्भव भएको भन्दै संशोधन आवश्यक रहेको धारणा राखेका थिए। महामन्त्री थापा र शर्मा भने निर्वाचनअघि जसरी पनि महाधिवेशन सम्पन्न गर्नुपर्ने अडानमा छन्। बुधबार बोलाइएको कार्यसम्पादन समिति बैठकमा संस्थापन पक्षको तयारी र नियत हेरेर मात्र अघि बढ्ने
महामन्त्री थापा र शर्मा ले बनाएको स्रोतको भनाइ छ। यदि संस्थापन पक्षले महाधिवेशन निर्वाचनपछि सार्ने रणनीति अपनाएमा विशेष महाधिवेशनको प्रस्ताव अघि सार्ने तयारी विशेष महाधिवेशनपक्षधर गुरु घिमिरे, देवराज चालिसे र सुवास पोखरेलको छ।
महाधिवेशन पुसभित्र सम्भव नदेखिएपछि कांग्रेसका केही नेताले राष्ट्रपति रामचन्द्र पौडेलसँग निर्वाचन मितिबारे छलफल गरेको स्रोतले बताएको छ। राष्ट्रपति पौडेलले पार्टी महाधिवेशनका नाममा राष्ट्रलाई संकटमा नधकेल्न सुझाव दिँदै संविधान र लोकतन्त्रलाई अड्याउने गरी निर्वाचन मिति नसार्न आग्रह गरेका थिए। ूबडो जुक्तिले लोकतन्त्र जोगिएको छ, निर्वाचन सार्ने सोचले फेरि दुर्घटना निम्त्याउन सक्छ,ू राष्ट्रपतिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। उनले नयाँ नेतृत्वसहित निर्वाचनमा जान सके शुभकामना दिने बताएका थिए।
कांग्रेसभित्र माघ २ गतेदेखि वडा अधिवेशन सुरु गरेर फागुन दोस्रो सातासम्म महाधिवेशन सक्ने गरी अनौपचारिक तयारी भइरहेको छ। तर, यसमा ठोस सहमति बनेको छैन। पार्टी प्रवक्ता डा प्रकाशशरण महतले महाधिवेशन मिति सार्ने विषयमा औपचारिक छलफल नै सुरु नभएको बताएका छन्। ूकेन्द्रीय समितिको निर्णय व्यक्ति विशेषको छलफलबाट परिवर्तन हुन सक्दैन,ू महतले भने।
कांग्रेसको सबभन्दा जटिल समस्या क्रियाशील सदस्यता छानबिन नै रहेको छ। यसअघिको १४औँ महाधिवेशनमा रमेश लेखक संयोजक रहेको छानबिन समितिले ८ महिना खर्चेको थियो। यसपटक सहमहामन्त्री महेन्द्र यादव संयोजक रहेको समितिले छानबिन सकेर सदस्यता टुंग्याउन कति समय लाग्छ, त्यसैले महाधिवेशनको मिति निर्धारण गर्ने एक केन्द्रीय सदस्यले बताए।
क्रियाशील सदस्यता टुंगो नलागेसम्म महाधिवेशनको कार्यतालिका कार्यान्वयन कठिन देखिएको छ। पार्टीभित्र संस्थापन र असन्तुष्ट पक्षबीचको मतभेदले महाधिवेशन अनिश्चित बन्दै गएको छ।

प्रतिक्रिया