कांग्रेसको महाधिवेशन सर्छ, त्यसको कारण महामन्त्रीहरु हुनः डा. शेखर

कांग्रेसको महाधिवेशन सर्छ, त्यसको कारण महामन्त्रीहरु हुनः डा. शेखर


काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टीको महाधिवेशन केही पछि सर्ने बताएका छन्।

नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय कृष्णप्रसाद भट्टराईको १०२औं जन्म जयन्तिको अवसरमा आयोजित ‘किसुनजीको जीवन र व्यक्तित्व’ विषयक विशेष बिचार गोष्ठीमा बोल्दै नेता डा. कोइरालाले भने ‘कांग्रेसको महाधिवेशन केही लम्विन सक्छ। त्यसको कारण म नभएर महामन्त्रीहरु हो।’

नेता कोइरालाले आफू चाँडो महाधिवेशन होस् भन्ने पक्षमा भए पनि महाधिवेशनको लागि आवश्यक पर्ने नयाँ क्रियाशिल सदस्यताको फारम सिरियल नम्वर बिना नै जिल्लामा पठाएर त्रुटि गरिएका कारण महाधिवेशन नै केही पछि सर्ने अवस्थामा आएको बताए।

‘सिरियल नम्वर बिना नै सदस्यता फारम भर्न थालेको मैले पनि थाहा पाएर रोक्ने काम गरेँ, त्यस्तो काम मैले गरेको होइन, त्यो सबै काम महामन्त्रीजीहरुको जिम्मेवारीमा पर्छ’ कोइरालाले भने, ‘महाधिवेशन सर्दैमा चिन्ता लिनु पर्ने अवस्था छैन।’

पार्टी सभपाति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर जाँदा नै नियमित महाधिवेशनको क्यालेण्डर फटाफट ल्याएर निर्णयमा पुगौं भनेर आफूले सल्लाह दिँदा केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री र सहमहामन्त्रीको फरक फरक क्यालेण्डर आएकाले महाधिवेशनको राम्रो तयारी हुन नसकेको उनले प्रष्ट पारे।

‘फागुन २१ अघि नै पार्टीको विशेष महाधिवेशनको माग गरौं तर हस्ताक्षर अभियान नगरौं भनेर मैले भन्दा केहीले कमजोर भनेर टिप्पणी गरे पनि आफूले नियमित महाधिवेशनको पक्षमा लिएको अडान सही ठहरियो’, डा. कोइरालाले भने ।

उनले नेपाली कांग्रेस फागुन २१ मा गरिने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिन तयार भएको जनाउँदै शान्ति सुरक्षाको व्यवस्था गर्ने कार्य सरकारले गर्नु पर्नेमा जोड दिए।

डा.कोइरालाले भने, ‘करिव पाँच हजार कैदी फरार छन्, त्यसमा पनि कतिपय सार्पसुटर पनि छन्। प्रहरीका करिव आठ सय हतियार लुटिएका छन्, ति सबै सरकारको नियन्त्रणमा नआएसम्म चुनाव शान्तिपूर्ण हुन सक्दैन र त्यस्तो चुनावमा कांग्रेसले भाग लिन सक्दैन।’

चुनाव गर्नका लागि नेपाली सेनाले तीन महिनाअघि तयारी गरेको बताए पनि चुनावमा मतपेटिकाको सुरक्षा प्रहरीले गर्ने भएकाले नेपाल प्रहरीलाई तयारी हालतमा राख्न सक्नु पर्नेमा जोड दिए।

‘भदौ २४ गते ६ घण्टाको समयमा नेपालमा यति धेरै ध्वंस भयो, त्यसमा नेपाली अनुहार त थिए नै त्यसभन्दा अरु पनि अनुहार थिए। यसले हाम्रो राष्ट्रियतालाई कति कमजोर बनाएको छ?’डा. कोइरालाको प्रश्न थियो, ‘हामी राजनीति गर्नेहरु आज किन त्यसको बारेमा बोल्न सकिरहेका छैनौं?’

कोइरालाले आफू जिल्ला र क्षेत्रमा जाँदा समेत निर्वाचनको माहोल नबनेको बताए। बरु कांग्रेसको महाधिवेशनको विषयमा चर्चा हुने गरेको भन्दै सरकारले निर्वाचन गराउने तयारीका सट्टा अरु नै खिचडी पकाउन थालेको आशंका व्यक्त गरे।

उनले भने, ‘वर्तमान सरकारका केही मन्त्रीलाइृ हटाएर केही नयाँ अनुहार राखेर जाने वा प्रधानमन्त्री सुशीला कार्कीलाई हटाएर खिलराज रेग्मीकै जस्तो सरकार प्रमुख परिवर्तन गर्ने खिचडी पाकिरहेकोमा चिन्ता लागेको छ।’

कोइरालाले अहिले राजनीतिमा नैतिकताको खडेरी परेको भन्दै नैतिकता नभएकाहरुल राजनीति नै नगर्न सुझाव दिए ।

उनले अहिले नैतिकताको खडेरी भएकाहरु र केही लोक रिझाईँमा रमाउनेहरुले राजनीतिलाई विकृत बनाएको टिप्पणी गरे। कोइरालाले अहिले देशको राष्ट्रियता कमजोर र लोकतन्त्र छाडातन्त्रमा परिणत हुँदै गएकोमा चिन्ता व्यक्त गरे।