काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वघोषित कार्यतालिका अनुसार पार्टीको महधिवशेनको लागि सबै आठ वटै तहको अधिवेशन सम्भव नभएको भन्दै तीन तहको मात्रै अधिवेशन गर्न प्रस्ताव अघि सारेका छन्।
नेपाली काग्रेस कार्यसम्पादन समितिको बुधबार बसेको बैठकमा महामन्त्री थापाले यस्तो प्रस्ताव राखेका हुन्। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अघि पार्टीका सबै तहको अधिवेशन सम्भव नभएको भन्दै यस्तो प्रस्ताव गरेका हुन्।
महामन्त्री थापाकै दबाबमा कांग्रेसले आगामी पुस २६–२८मा पार्टीको १५औं महाधिवेशनको गर्ने निर्णय गत मंसिर २५ गतेको केन्द्रीय कार्यसमिति बैठकमार्फत गरिसकेको थियो। तर सदस्यता व्यवस्थापनको जिम्मेवारी पाएका महामन्त्री थापाले हालसम्म क्रियाशिल सदस्यता नविकरण र नयाँ वितरणको अद्यावधिक र अन्तिम नामावली नै तयार गर्न नसक्दा महाधिवेशन प्रभावित बन्ने देखिएको छ।
करिव चार लाख क्रियाशिल सदस्यताको फारम विरतण सिरियल नम्वर बिना नै वितरण गरिएपछि सदस्यताको अन्तिम नामावली कांग्रेसले अझै तयार गर्न सकेको छैन।
बुधबारको कार्यसम्पादन समिति बैठकमा महामन्त्री थापाले वडा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र केन्द्रीय महाधिवेशन मात्रै गर्ने प्रस्ताव राखेका हुन्। उनको प्रस्तावलाई कार्यसम्पादन समितिले पास भने गरेको छैन।
उनले क्रियाशील सदस्यता वितरण र नवीकरणमा ढिलाइ भइसकेको भन्दै तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी तीन तहको मात्र अधिवेशन गर्ने प्रस्ताव अघि सारेका हुन्।
थापाको यस्तो प्रस्तावबाट अन्य पदाधिकारी भने असन्तुष्ट बनेका छन्। अन्य नेताहरूले भने पहिला हचुवाका भरमा महाधिवशेनको कार्यतालिका प्रस्तुत गर्दा अहिले समस्या आएको बताए।
उनीहरुले नेतृत्व परिवर्तन गर्ने नाममा कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले कुनै तहमा नयाँ नेतृत्व आउने कुनैमा चाहीँ पुरानाले नै जिम्मेवारी पाउने प्रावधान उपयुक्त नहुने बताएका छन्।
बंैठकपछि संचारकर्मीहरुसँग बोल्दै थापाले भने, ‘एक, दुई, तीन महाधिवेशन नगरी र नेतृत्व परिवर्तन नगरी कांग्रेस फागुन २१को प्रतिनिधि सभा सदस्य निर्वाचनमा जान सक्दैन। नयाँ नेतृत्व लिएर मात्र कांग्रेस चुनावमा जान्छ। अधिवेशन नगरी चुनावमा गए कांग्रेसको हालत के होला?’
उनले क्रियाशिल सदस्यताको भारी महामन्त्रीलाई मात्र बोकाएर नहुने भन्दै जिल्ला जिल्लाबाट सदस्यताको नामावली आउनु पर्नेमा जोड दिए। उनले भने, ‘यो महाधिवशेन गगन थापाको मात्र हो, भनेर व्यवहार गरेमा महाधिवेशनमा वाधा आउन सक्छ।’

प्रतिक्रिया