प्रधानमन्त्री कार्कीद्वारा शीर्ष नेताको संयुक्त बैठक आह्वान

प्रधानमन्त्री कार्कीद्वारा शीर्ष नेताको संयुक्त बैठक आह्वान


प्रधानमन्त्री कार्की-सम्बोधन काठमाडौँ, २९ भदौ : प्रधानमन्त्री सुशीला कार्की आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरूको संयुक्त बैठक बोलाएकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठक आह्वान गरेकी हुन् । बैठक शनिबार राखिएको छ ।

आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका सम्बन्धमा प्रधानमन्त्रीले बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज बिहान काँग्रेस सभापति शेरबहादुर देउवा र मध्याह्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर बैठकको निम्तो दिइसकेका छन् । उनले आजै ‘प्रचण्ड’लाई पनि भेटेर निम्तो दिने कार्यक्रम छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्की समेतको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गरेका थिए ।