पाँच महिनामा काठमाडौँ महानगरको बजेट खर्च न्यून

पाँच महिनामा काठमाडौँ महानगरको बजेट खर्च न्यून


काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महिनामा काठमाडौँ महानगरपालिकाको बजेट खर्च न्यून देखिएको छ । महानगरले चालू आवको साउनदेखि पुस ९ गतेसम्म १८.४८ प्रतिशत मात्रै बजेट खर्च गरेको हो ।

काठमाडौँ महानगरपालिकाको नगर सभाको १८औँ अधिवेशनमा उपमेयर सुनिता डंगोलले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा संक्षिप्त कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने अनुमान गरिएको छ ।

जसमा आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ र बाँकी नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजस्व बाँडफाँडमार्फत प्राप्त हुने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको पुस ९ गतेसम्म समग्र आय-व्ययको अवस्था अनुसार कुल ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च भएको छ । जुन कुल विनियोजनको १८.४८ प्रतिशत हो । समग्र खर्चको प्रतिशत हेर्दा चालु खर्च २८.४४ प्रतिशत र पुँजीगत खर्च १२.३९ प्रतिशत भएको छ ।

क्षेत्रगत रूपमा पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत खर्च भएको छ । त्यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १२.०६ प्रतिशत खर्च भएको उपमेयर डंगोलले जानकारी दिइन् । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा भने सबैभन्दा बढी ४५.९९ प्रतिशत खर्च भएको देखिन्छ ।

विभाग अनुसार विनियोजित बजेटमा खचको विश्लेषण गर्दा प्रशासन विभागले कूल विनियोजित बजेटको ४६.५९ प्रतिशत खर्च गरेको छ । जसमा चालूतर्फ ४८.१८ प्रतिशत र पुँजीगत तर्फ १०.२३ प्रतिशत विनियोजित बजेटमा खर्च गरेको छ ।

आन्तरिक लेखा परीक्षण एकाइको खर्च ३८.७२ प्रतिशत र हनुमान ढोका दरबार क्षेत्र कार्यक्रममा २७.७३ प्रतिशत रकम खर्च भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयको २४.७९ प्रतिशत खर्च भएको छ ।

काठमाडौँ महानगरपालिकाको वडामा हुने विनियोजित रकमको आधारमा सबैभन्दा बढी वडा नं. ७ ले खर्च गरेको छ । यस वडाले चालू शीर्षकमा २४.९२ प्रतिशत र पुँजीगत तर्फ ३२.३३ प्रतिशत खर्च गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ का लागि संक्षिप्त कोषमा व्यय भार पर्ने २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ र ६५ करोड रुपैयाँ अन्य व्यय भार हुने गरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट स्वीकृत भई कार्यान्वयनमा छ ।