तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित


म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन् । खानी तथा भूगर्भ विभागबाट अनुमति लिएको कम्पनी एमएस दोङयी मिनरल्स प्रालिले मच्छिमको तामा खानीको खोजतलास तथा उत्खननका लागि पुन : अध्ययन थालेको हो । मच्छिम गाउँदेखि नजिकै रहेको पाखोमा छ ठाउँमा रहेका तामाखानी पाँच दशकदेखि बन्द अवस्थामा छन् ।

धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले भूगर्भविद्हरूको टोली खानीमा तामाको मात्रा पहिचानका लागि अध्ययनका लागि आएका बताए । तामाखानी अध्ययनका लागि मच्छिम हुँदै गाउँपालिकाको केन्द्र मुना जोड्ने मुख्य सडकदेखि तामाखानी जोड्ने पहुँच मार्ग निर्माण गरिसकेका छन् ।

खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने वडाध्यक्ष खत्रीले बताए । खानी उत्खननका लागि अध्ययन थालिएकामा मच्छिमवासीमा खुसीयाली छाएको स्थानीय अगुवा चन्द्रबहादुर छन्त्यालले बताए ।

उनका अनुसार मच्छिमको खानीबाट २०२८ सालसम्म स्थानीय प्रविधिको प्रयोग गरेर तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यस बेला तामाखानी बन्द भएको छन्त्यालले बताए ।

तामा खानी उत्खननका लागि आएका छन्त्याल समुदायले मच्छिममा बस्ती बसाएको इतिहास छ । छन्त्याल समुदायको पुर्ख्यौली पेसा खानी खन्ने हो । त्यहाँ अझैसम्म पनि तामाका धाउहरू देख्न सकिन्छ । तामा खानीको सुरुङ छन् । पहाडमा तामा रसाएको देख्न सकिन्छ ।

स्थानीयवासीले त्यही सुरुङबाट भित्र छिरेर घन, छिनोको प्रयोग गरेर तामा निकाल्ने गरेका थिए । उक्त खानीबाट निकालेको तामाबाट गाग्री, टाउलो, माना, पाथी, गिलासलगायत भाँडा तयार पार्ने गरिन्थ्यो । खानीको तामाले बनाएका भाँडा स्थानीयले घरमा सजाएर राखेका छन् ।

वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिनुपर्ने मच्छिमका बासिन्दा कुलबहादुर छन्त्यालले बताए। उक्त कम्पनीले मालिका गाउँपालिकाको ओखर बोट तामा खानीमा पनि सम्भाव्यता अध्ययन गरिरहेको छ । खानी तथा भूगर्भ विभागका अनुसार म्याग्दीमा तामा, फलाम, क्वार्ज, कप्रक, चुनढुंगा, खरिढुंगा, स्लेटढुंगा, मार्बल र तातोपानीका मुहानहरू (हटस्पिङ) पाइन्छन् ।

जिल्लामा बढी पाइने खनिज पदार्थमा तामा प्रमुख हो । मच्छिमको साथै धवलागिरिको गुर्जा र मल्कवाङ, रघुगंगाको ठाडाखानी, कुइनेखानी र मंगलेखानीमा तामाखानी छन् । धवलागिरिको नर्जा, मालिकाको रुम, डाँडागाउँ, निस्कोटमा स्लेट ढुंगा खानी छन् ।