कांग्रेसद्वारा ‘बागी’को कारबाही फुकुवाः पार्टी छाडेकालाई फर्कन आव्हान

कांग्रेसद्वारा ‘बागी’को कारबाही फुकुवाः पार्टी छाडेकालाई फर्कन आव्हान

केन्द्रीय कार्यालयद्वारा मातहतका समितिलाई पत्राचार


 

काठमाडौं। नेपाली कांग्रेसले २०७९ वैशाख र मंसिरमा भएको स्थानीय तह, प्रदेश र संघीय निर्वाचनका समयमा पार्टीको आधिकारिक उम्मदवारविरुद्ध बागी बनेका र बागीका प्रस्तावक, समर्थक तथा प्रचारकमाथि गरेको कारबाही फुकुवा गरेको छ।

पार्टी केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले गरेका निर्णयबमोजिम आइतबार पार्टी मुख्यालयले पार्टीका सबै तल्लो तहका कार्यसमितिलाई परिपत्र गर्दै कार्यार्थ निर्देशन दिएको हो।

परिपत्र बमोजिम अब निर्वाचनमा अन्तरघात गरेकादेखि पार्टी छाडेर अन्य दलमा गएका वा स्वतन्त्र भएका सबैमाथि गरिएको अनुशासनको कारबाही फुकुवा गरेको छ। पार्टीले मातहतका कार्यसमितिलाई पत्राचार गर्दै कार्यसम्पादन समितिको निर्णय अनुसार पार्टीमा फर्किएका सबैको क्रियाशिल सदस्यता नविकरण गर्न भनेको छ।

यसअघिका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका, तथा त्यस्ता बागी उम्मेदवारको समर्थक र प्रस्तावक बसेका तथा उनीहरुको पक्षमा मत मागेका सबैको कारबाही फुकुवा भएको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार पार्टीका मातहतका कार्यसमितिलाई यसबारे जानकारी गराएका छन्।

परिपत्रमा भनिएको छ,‘विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समथृन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधानअनुसार स्वतः कारबाहीमा परेकाहरूको बाँकी अवधि माफी र मिनाहा गर्ने निर्णय गरिएको छ।’

शनिबारको कार्यसम्पादन समितिको बैठकको निर्णायानुसार कारबाही माफी र मिनाहा भएका व्यक्तिहरूको पार्टीको वहाल रहेको पद नरहने गरी क्रियाशील सदस्यलाई निरन्तरता कायम गरी क्रियाशील नवीकरण हुने छ।