वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन संकट समाधानका लागि हुने शान्ति सम्झौतामा कुनै निश्चित समयसीमा नरहेको बताएका छन् ।
फ्लोरिडाको पाम बीचस्थित आफ्नो मार–ए–लागो निवासमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “मेरो कुनै डेडलाइन छैन । मेरो एक मात्र लक्ष्य युद्ध अन्त्य गर्नु हो ।”
सन् २०२५ को अन्त्यसम्म शान्ति सम्झौता हुने अपेक्षा छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले भने, “यो परिस्थितिमा भर पर्छ । मलाई लाग्छ सम्झौताका लागि आधार तयार भएको छ,” तर युक्रेन संकट समाधान गर्न निकै कठिन भएको पनि उनले स्वीकार गरे ।
राष्ट्रपति जेलेन्स्कीले भेटमा २० बुँदे शान्ति योजनाको पछिल्लो मस्यौदा र समाधान प्रक्रियाको चरणबद्ध कार्यान्वयनबारे छलफल हुने बताए । “रणनीतिबारे हाम्रो टोलीबीच समन्वय अत्यन्तै महत्त्वपूर्ण छ, जसले शान्तिलाई नजिक ल्याउन मद्दत गर्छ,” उनले थपे ।
यसअघि ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको फोन वार्ता ‘राम्रो र निकै फलदायी’ भएको बताएका थिए । रुसी राष्ट्रपति सहयोगी युरी उशाकोभका अनुसार ट्रम्प र पुटिन दुवैले अस्थायी युद्धविरामले संकट लम्ब्याउने र फेरि द्वन्द्व चर्किने जोखिम बढाउने साझा धारणा राखे ।
फ्लोरिडामा भएको भेटवार्तामा सम्भावित युद्धविराम, प्रस्तावित असैन्य क्षेत्र, जापोरिज्झिया आणविक विद्युत् केन्द्रको व्यवस्थापन, डोनबास क्षेत्रको नियन्त्रण तथा युद्धपछिका सुरक्षा ग्यारेन्टीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया