शक्ति बाँडफाँटमा कुरा नमिलेपछि रवि–कुलमान वार्ता विफल

शक्ति बाँडफाँटमा कुरा नमिलेपछि रवि–कुलमान वार्ता विफल

बालेनको प्रयास असफल : रास्वपामा कुलमान समेट्ने सम्भावना टर्‍यो


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र उज्यालो नेपाल पार्टीबीच पार्टी एकता वा सहकार्य हुने सम्भावना समाप्त भएको छ। आइतबार राति भएको निर्णायक वार्ता शक्ति बाँडफाँटमा कुरा नमिलेपछि निष्कर्षविहीन बनेको हो।

रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आइतबार साँझदेखि मध्यरातसम्म चलेको छलफलमा सहमति जुट्न सकेन। स्रोतका अनुसार रास्वपाले उज्यालो नेपाललाई २० प्रतिशतभन्दा कम शक्ति हिस्सा दिने अपमानजनक प्रस्ताव राखेको थियो, जसलाई कुलमान घिसिङले अस्वीकार गरे।
‘उहाँहरूले २० प्रतिशतभन्दा पनि कम दिएर मिलौँ भन्नुभयो, यो त हामीमाथि अपमानजनक व्यवहार हो,’ उज्यालो नेपाल पार्टीका एक नेताले नेपालखबरसँग भने। बालेन शाहका विश्वासपात्रहरूले कुलमानलाई समेट्न हदैसम्म लचकता अपनाए पनि रवि लामिछाने पक्ष तयार नदेखिएको बताएका छन्।
वार्ता विफल भएपछि उज्यालो नेपाल पार्टीले छुट्टै चुनावी तयारी थालेको छ। पार्टीका नेता जीतराम वाइबाले भने, ‘अब हामी छुट्टै अगाडि बढ्छौँ, समानुपातिक सूची तयार पार्दैछौँ र छुट्टै पेस गर्छौँ।’
यसअघि रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे सहमति भएर रास्वपामा बालेनको प्रवेश र भावी प्रधानमन्त्रीको उम्मेदवारी सुनिश्चित भए पनि कुलमानलाई समेट्ने प्रयास असफल भएको हो। निर्वाचन आयोगमा समानुपातिक बन्दसूची बुझाउने आज अन्तिम दिन भएकाले दुवै पक्षले छुट्टाछुट्टै तयारी अन्तिम चरणमा पुर्‍याएका छन्।