कांग्रेस महामन्त्री थापा उम्मेदवार हुन नपाउने

कांग्रेस महामन्त्री थापा उम्मेदवार हुन नपाउने

चौरसिया, पोखरेल, गच्छदार सहित ३७ जना कारवाहीमा


काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आगामी फागुन २१ गते हुने संघीय संसदको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन्।  कांग्रेसका महामन्त्री थापाले निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३को दफा ३१ को उपदाफा (४) बमोजिम कसुर गरेका कारण उम्मेदवार हुन नपाउने भएका हुन्।

आयोगका अनुसार थापाले निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को तफा ३१ बमोजिम २०७९ मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ मा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फको निर्वाचन प्रणालीमा उम्मेदवार हुँदा निर्वाचन खर्च विवरण नबुझाएको जनाएको छ। कांग्रेस महामन्त्री थापाले निर्वाचन सम्पन्न भएको ३५ दिन भित्र निर्वाचनमा भएको खर्च विवरण पेश गरेका थिएनन्। उनलाई आयोगले २०८० वैशाख ४ गते बैठकको निर्णयमार्फत निर्वाचन कसुर गरेको भन्दै १५ हजार  रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो।

थापासहित प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार भएका ३७ जनाले १५ हजार रुपैयाँ जरिवाना समेत नतिरेपछि आयोगको २०८२ साउन १ गते बसेको बैठकले आगामी कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने जनाएको थियो।

आयोगका अनुसार यसरी २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्च विवरण नपठाउने र तोकेको जरिवानासमेत नतिरेका कारण उनी निर्वाचनमा भाग लिन नपाउने भएका हुन्। कांग्रेस महामन्त्री थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट कांग्रेस भाग्न नसक्ने र सो निर्वाचन अघि नै कांग्रेसको १५औं महाधिवेशन हुनुपर्ने बताउँदै आएका थिए।

यसरी जरिवाना नतिर्ने ३७ जनामा प्रतिनिधिसभाको पत्यक्षतर्फका उम्मेदवारहरुमा नेकपा एमालेका अध्यक्ष केपी ओलीका विश्वास पात्र तथा थापाका प्रत्यासी भएका नेता राजन भट्टराई, नेकपा मालेकी लीलामाया पौडेलसहित छन्।

आयोगले निर्वाचन सम्पन्न भएको ६ महिना भित्र निर्वाचन खर्च विवरण नदिने लोकतान्त्रिक समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, शरतसिंह भण्डारी, जनता समाजबादी पार्टी नेपालका प्रदीप यादव, जनता समाजबादी पार्टीका नेता बीरेन्द्रकुमार महतो, हाम्रो नेपाल पार्टीका अर्चन शम्शरे जबरा, एमालेका हरिप्रसाद उप्रेति, लक्ष्मी कोइरी महतोलाई १५ हजार रुपैयाँ जरिवाना तिराएको थियो। कांग्रेस नेता विजयकुमार गच्छदार, अजयकुमार चौरसिया, राप्रपाका गोपाल दाहाल, माओबादीका गिरिराजमणि पोखरेललाई समेत आयोगले निर्वाचनसम्वन्धी कसुरमा जरिवाना तिराएको थियो।