प्रधानमन्त्रीद्वारा खालिदा जियाको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा खालिदा जियाको निधनप्रति दुःख व्यक्त


प्रधानमन्त्री कार्की-सम्बोधन काठमाडौँ, २९ भदौ : प्रधानमन्त्री सुशीला कार्की आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बांङ्लादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको निधनप्रति दुःख व्यक्त गरेकी छन् ।

मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री कार्कीले बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का अध्यक्षसमेत रहेकी जियाको निधनप्रति दुःख व्यक्त गरेकी हुन् ।

निधनप्रति दुःख व्यक्त गर्दै उनले नेपाल सरकारको तर्फबाट परिवारजनप्रति समवेदना व्यक्त गरेकी छन् ।

‘बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री तथा बीएनपी अध्यक्ष बेगम खालिदा जियाको निधनको खबर सुनेर म अत्यन्तै दुःखी छु’, प्रधानमन्त्री कार्कीले फेसबुकमा लेखेकी छन्, ‘नेपाल सरकार र जनताको तर्फबाट, म उहाँका परिवार, साथीभाइ र बंगलादेशका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।’

जियाको ८० वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । वर्षौँदेखि कमजोर स्वास्थ्य, लामो कारावास र राजनीतिक उतारचढावबीच पनि सक्रिय राजनीतिमा रहनुभएकी जियाको निधनले बांङ्लादेशी राजनीतिमा गहिरो शून्यता सिर्जना गरेको छ ।

बिएनपीका अनुसार नोभेम्बरको अन्त्यतिर उहाँको स्वास्थ्य अचानक बिग्रिएपछि ढाकाको एक अस्पतालमा भर्ना गरिएको थियो ।

उनको निधनको खबर फैलिएसँगै, चिसो वर्षाको बीच पनि मंगलबार बिहान ढाकास्थित अस्पताल बाहिर हजारौँ शोकाकुल समर्थकहरू भेला भएका थिए ।