काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पक्षधरहरूको राष्ट्रिय भेला बोलाउने भएका छन् ।
महामन्त्रीद्वयले केही दिनमै काठमाडौँमा विशेष महाधिवेशन पक्षधरको भेला बोलाउने तयारी गरेका हुन् । निकट स्रोतका अनुसार पुसको १९, २० वा २१ गतेका लागि भेला बोलाउने तयारी भइरहेको छ ।
‘महामन्त्रीद्वयले पत्र काटेर विशेष महाधिवेशनको पक्षधरहरूलाई बोलाउनुहुन्छ । त्यसपछि विशेष महाधिवेशन तोक्छौ’ महामन्त्रीनिकट एक नेताले भने । ती नेताका अनुसार महामन्त्रीद्वयले औपचारिक पत्र नै काटेर विशेष महाधिवेशनको भेला बोलाउने सहमति बनिसकेको छ ।
‘पार्टीभित्र रूपान्तरणका लागि उठेको आवाजलाई बेवास्ता गरियो । विधानको व्यवस्थालाई लत्त्याउने प्रयास भयो । अब यथास्थितिमा काँग्रेस अगाडि बढ्दैन । विशेष महाधिवेशन पक्षधरहरू एकै ठाउँमा भेला भएर दबाब दिन्छौँ’, ती नेताको भनाई छ ।
महामन्त्री थापा पक्षधरहरूले हस्ताक्षरकर्ताहरूले नै विशेष महाधिवेशन बोलाउनेबारे कानुनविद्हरूसँग नियमित परामर्श पनि गरिरहेका छन् ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामै भेला बोलाउने तयारी भइरहेको हो । यसैबीच महामन्त्री थापा निकट नेताहरूले सामाजिक सञ्जालमा ‘अक्कुपाई सानेपा’ ह्यासट्याग ट्रेन्ड सुरु गरेका छन् । उनीहरूले सानेपास्थित काँग्रेस कार्यालय घेराउ गर्ने, सत्याग्रह गर्ने लगायतका दबाबमूलक कार्यक्रमको तयारी गरेका हुन् ।

प्रतिक्रिया